×

वीरगञ्ज । परवानीपुरस्थित शक्ति युवा क्लबले आफ्ना नियमित खेलाडीहरूबीच चार समूहमा विभाजित गरी आन्तरिक फुटबल प्रतियोगिता आयोजना गरेको छ। शुक्रबार आयोजित प्रतियोगिताको पहिलो खेलमा परवानीपुर राइडर्सले परवानीपुर टाइगर्सलाई १–० गोलले पराजित गर्‍यो। खेलको मध्य समयमा राइडर्सका खेलाडी ऋषी मण्डलले गरेको गोल नै निर्णायक साबित भयो।

दोस्रो खेलमा परवानीपुर लायन्सले परवानीपुर फाइटर्सलाई ट्राईबेकरमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो।

क्लबका अध्यक्ष राजमहमद मियाँका अनुसार ४० जना खेलाडीलाई चारवटा समूहमा विभाजन गरी प्रतियोगिता गरिएको हो। परवानीपुर लायन्स, परवानीपुर टाइगर्स, परवानीपुर राइडर्स, र परवानीपुर फाइटर्स नामक चार टिममा १०–१० जना खेलाडी राखिएका छन्। प्रतियोगितामा सहभागी खेलाडीहरूले नियमित अभ्यास गर्दै आएका थिए, जसको उद्देश्य खेल अनुशासनमा ध्यान दिनु र विभिन्न प्रतियोगिताहरूका लागि अनुभव प्राप्त गर्नु रहेको मियाँले बताए।

शनिबार बिहान प्रतियोगिताको फाइनल खेल हुनेछ। विजेता समूहलाई पुरस्कृत गरिनुका साथै प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई वनभोजमा सहभागी गराइने कार्यक्रम रहेको क्लबले जानकारी दिएको छ।

Back to top