×

वीरगञ्ज । उच्च अदालत वीरगञ्जले नेपाल रेलवे माद्यमिक विद्यालयको व्यवस्थापन समिति खारेज गर्ने वीरगञ्ज महानगरपालिकाको निर्णय सदर गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय बाबु रौनियारसहितले महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको रिट खारेज गरिएको हो।

महानगरले विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय गत असार २ गते गरेको थियो। नगर शिक्षा समितिको निर्णयअनुसार, समितिलाई सुधारका लागि मौका दिँदा चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै समिति विघटन गरिएको थियो। व्यवस्थापन समितिका अध्यक्ष विजय बाबु रौनियारले उक्त निर्णयलाई चुनौती दिँदै भदौ २३ गते उच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।

उक्त मुद्धामा उच्च अदालतका न्यायाधीश दुर्गा बहादुर विश्वकर्मा र नेत्र प्रकाश आचार्यको संयुक्त इजलासले महानगरपालिकाको निर्णयलाई नियमसंगत ठहर गर्दै अन्तरिम आदेश जारी नगरिने निर्णय सुनाएको हो।

महानगरका कानुन अधिकृत इश्वर बरालका अनुसार महानगरको तर्फबाट अधिवक्ताहरु कमलमोहन पोखरेल, प्रमोद प्रसाद साह र विरेन्द्र प्रसाद यादवले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ताहरु विनय कुमार मल्लिक, राकेश कुमार मल्लिक र विनोद कुमार मल्लिकले बहस गरेका थिए।

महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिले विद्यालयको सही व्यवस्थापन गर्न नसकेको र कार्य सन्तोषजनक नभएको आरोपमा समिति विघटन गरेको हो।

 

Back to top