×

वीरगञ्ज । तेरापंथ युवक परिषदले पर्सा र बारामा ११ दिने बृहत रक्तदान शिविर सञ्चालन गरी १,१२७ पोका रगत संकलन गरेको छ। भदौ २५ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न शिविरमा महिला र पुरुष गरी १,१२७ जनाले रक्तदान गरेका छन्। तेरापंथ युवक परिषद वीरगञ्जका अध्यक्ष लोकेश जैनले यसबारे जानकारी दिएका हुन्।

शिविरको अन्तिम दिन बाराको शिवशक्ति घ्यू उद्योगमा आयोजित कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए भने यसअघि बिहीबार हुलास आइरन उद्योगमा १०७ जनाले रक्तदान गरेका थिए। ११ दिने शिविरको क्रममा सबैभन्दा बढी रक्तदान वीरगञ्जको जैन भवनमा गत शनिबार सम्पन्न कार्यक्रममा २११ जनाले गरेका थिए।

सिमराको हुलास स्टिल उद्योगमा आयोजित कार्यक्रममा १३० जनाले रक्तदान गरेका थिए। परिषदले १,५०० पोका रगत संकलन गर्ने लक्ष्य राखेको भए पनि गर्मीका कारण रक्तदाताको सहभागिता अपेक्षाकृत कम भएकोले लक्ष्य पूरा गर्न नसकिएको अध्यक्ष जैनले बताए।

संकलित रगत नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा सञ्चालित वीरगञ्ज रक्त सञ्चार केन्द्रमा जम्मा गरिएको छ। परिषदले यसअघि २०७९ सालमा आयोजित एकदिने रक्तदान कार्यक्रममा ४२३ पोका रगत संकलन गरेको थियो।

Back to top