×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले महानगरका ३२ वडाका सबै नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँचमा पुर्याउनका लागि गुरुयोजना तयार गर्ने र छिट्टै कार्यान्वयन गर्ने तयारी गरेको छ। महानगर, नेपाल खानेपानी संस्थान, र युनिसेफको संयुक्त सहकार्यमा यो योजना अघि बढाइएको हो।

शुक्रबार वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको बैठकमा स्वच्छ र सुरक्षित खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि गुरुयोजना आवश्यक भएको र यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्ने विषयमा छलफल भएको थियो। सिंहले सुरक्षित खानेपानी महानगरको मुख्य प्राथमिकता भएको उल्लेख गर्दै यसका लागि युनिसेफको सहयोगमा पानीको गुणस्तर परीक्षण गर्न ल्याब स्थापना गरिने जानकारी पनि दिए।

बैठकमा महानगरपालिकाले खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। यससँगै, महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाई सम्बन्धी कार्य योजना लागू गर्ने विषयमा पनि छलफल भयो।

बैठकमा उप–प्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक त्रीदिप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रविण कुमार साह, युनिसेफका प्रमुख इरफान एस लगायत अन्य अधिकारीहरू सहभागी थिए।

यो योजना कार्यान्वयन भएपछि वीरगञ्जका सबै वडाका नागरिकले सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पाउने अपेक्षा गरिएको छ।

Back to top