×

सर्लाही । धनकौल गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। धनकौल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको यस गोष्ठीको उद्घाटन पालिका अध्यक्ष रामअश्रय साहले पानसमा बत्ती बालेर गरेका हुन्।

स्वास्थ्य समीक्षा गोष्ठीमा स्वास्थ्यका तथ्यांकहरूको प्रस्तुति मात्र नभई, स्वास्थ्य क्षेत्रमा देखा परेका चुनौतीहरू र समाधानबारे गहन छलफल गरिएको थियो। जिल्ला प्रतिनिधि तथा तथ्यांक अधिकृत लालबाबु रायले यस कार्यक्रममा स्वास्थ्यका समस्या, चुनौती, र आगामी कार्य योजनाहरूमा पनि गम्भीर छलफल भएको जानकारी दिए। उनले जनप्रतिनिधिहरूको सुझावलाई समेट्दै, जनताको प्रत्यक्ष सम्पर्कमा रहेर गुणस्तरीय सेवा प्रवाह गर्न सधैं प्रयत्नशील रहेको बताए।

धनकौल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले चालू आर्थिक वर्षमा ९ अंक बढी उपलब्धि हासिल गरेको जानकारी गराउँदै, गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासका लागि धन्यवाद व्यक्त गरे। उनले आगामी दिनहरूमा पनि सिमित स्रोत साधनहरूकै बीचमा उल्लेखनीय कार्यहरू गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन समारोहमा पालिका अध्यक्ष रामअश्रय साहले स्थानीय तहले नागरिकहरूको स्वास्थ्य सेवा सुधारका लागि पर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए। सीमित स्रोत साधनका बावजुद कर्मचारीहरूले प्रशंसनीय कार्य गरेको र स्वास्थ्य क्षेत्रका सूचकहरूमा सुधार गर्न प्रयास गरिरहेको उनले बताए। अध्यक्ष साहले धनकौलको स्वास्थ्य क्षेत्रलाई जिल्लामै नमुना बनाउने लक्ष्य राखिएको र स्वास्थ्य सुधारका लागि आवश्यक जनशक्ति र बजेट विनियोजनमा कुनै कसर बाँकी नराख्ने जिकिर गरे।

गोष्ठीमा विशिष्ट अतिथि उपाध्यक्ष अकली सहनी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन साह, स्वास्थ्य शाखाका सह-संयोजक रामायणी प्रसाद साह, वन हर्टका अमरेन्द्र राय यादव, ग्लोबल एडुकेशन एण्ड बर्थका बच्चालाल महतो र विभिन्न स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य गाउँपालिका अध्यक्षका स्वकीय सचिव विरेन्द्र कुशवाहाले दिएका थिए भने उद्घाटन सत्रको सञ्चालन स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले गरेका थिए।

Back to top