×

वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा डेङ्गी संक्रमण तीव्र रूपमा फैलिरहेको छ। विशेषगरी पोखरिया नगरपालिका र आसपासका क्षेत्रमा विगत केही दिनदेखि डेङ्गीका बिरामीको संख्या बढ्न थालेको छ।

पोखरिया जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवका अनुसार अस्पतालमा दैनिक एकरदुई जना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि हुँदै आएको छ।

डा. यादवले अस्पतालमा दैनिक करिब २०० बिरामीहरूको चेकजाँच भइरहेको जानकारी दिएका छन्, जसमध्ये एकाध बिरामीमा डेङ्गीको लक्षण फेला परेको छ। रगत परीक्षण गर्दा डेङ्गी संक्रमण देखिएका बिरामीहरूलाई तत्काल आवश्यक उपचार गराइरहेको अस्पतालले जनाएको छ।

हालसम्मको तथ्यांकअनुसार, एक हप्ताको अवधिमा पोखरिया अस्पतालमा पाँचजना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि भएको छ। ज्वरोका बिरामीहरूको चेकजाँच गर्दा डेङ्गीका केसहरू थप देखिने सम्भावना रहेको अस्पताल प्रशासनले जनाएको छ।

ग्रामीण क्षेत्रमा डेङ्गी फैलनु स्वास्थ्यको गम्भीर चुनौती बनेको छ, जसका लागि तत्काल रोकथामका उपायहरू अपनाउनुपर्ने डा. यादवले सुझाएका छन्।

Back to top