×

वीरगञ्ज । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पर्सा जिल्लाका उद्योगी व्यवसायीलाई बागमती प्रदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा बिहीबार संघको सभाहलमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री काफ्लेले उद्योग तथा कारखाना विस्तार गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री काफ्लेका अनुसार, बागमती प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन कानुनी र प्राविधिक रूपमा सहजीकरण गरिरहेको छ। उहाँले बागमती प्रदेशमा उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधारहरू विकास गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभयो। उहाँले यस क्षेत्रको औद्योगिक सम्भावनालाई चिनाउँदै सबै प्रकारका सहकार्य र सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो।

छलफलका क्रममा मन्त्री काफ्लेले मधेश प्रदेशको अर्थ नीतिमा बागमती प्रदेशको तर्फबाट आवश्यक सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले देशको वर्तमान आर्थिक संकट समाधानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। अग्रवालले वर्तमान आर्थिक मन्दीको कारणले सिर्जित निराशालाई हटाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास मात्र सफल हुने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले राजस्व दर मात्रै बढाएर नभई दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। गौतमले राजस्वको दर मात्र बढाएर सरकारको आय वृद्धि नहुने उल्लेख गर्नुभयो।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कृष्ण मैनाली लगायतले आ–आफ्ना विचार राखेका थिए।

Back to top