×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर यादव अहिले काठमाडौंको ट्रमा सेन्टर अस्पतालमा गम्भीर उपचार गराइरहेका छन्।

प्रदेश स्तरीय कबड्डी खेल खेल्दै गर्दा घाइते भएका यादवको उपचारमा लाखौं खर्च भइसक्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यादव परिवारले गुनासो गरेको छ।

खेलाडी यादवको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको उनका दाजु जयशंकर यादवले जानकारी दिएका छन्। घाइते भएको १५ दिन बितिसक्दा पनि नेपाल राष्ट्रिय कबड्डी संघ, मधेस प्रदेश कबड्डी संघ तथा अन्य सरकारी निकायहरूले कुनै सहयोग नगरेको यादव परिवारको गुनासो छ।

हालसम्म सागर यादवको उपचारमा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको भए तापनि सरकार, राष्ट्रिय कबड्डी संघ, मधेस प्रदेश सरकार तथा वीरगञ्ज महानगरपालिकाबाट कुनै सहयोग प्राप्त नभएको खेलाडी सागरले बताएका छन्।

सागर यादवले हालै बंगलादेशमा सम्पन्न बंगबन्धु कबड्डी प्रतियोगितामा नेपाललाई दोस्रो स्थानमा पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए।

उनले देश विदेशमा थुप्रै प्रतियोगितामा सहभागिता जनाउँदै मेडल र शिल्ड जितिसकेका छन्। खेलाडी सागरको उपचारका लागि सहयोगको अपिल गरिँदै, खेलप्रेमी र सम्बन्धित निकायले आवश्यक कदम उठाउने अपेक्षा गरिएको छ।

Back to top