×

वीरगञ्ज । सप्ताहव्यापी कार्यक्रम गर्दै वीरगञ्ज स्कुल अफले संविधान दिवस मनाइरहेको छ । कानुनी शिक्षा, संविधानको महत्त्व र नागरिक अधिकारबारे जनचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर दिवस मनाइरहेको वीरगञ्ज स्कुल अफ लका सञ्चालक समितिका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बताए ।

उनकाअनुसार पहिलो दिन, वीरगञ्ज स्कुल अफ ल ले राजर्षी जनक विश्वविद्यालयको पुस्तकालयलाई २८ थान संवैधानिक कानुन पुस्तक हस्तान्तरण गरिएको छ । सञ्चालक समितिका अध्यक्ष अधिवक्ता पटेलद्वारा लिखित पुस्तक राजर्षी जनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहलाई हस्तान्तरण गरिएको हो । नेपालको संविधान र संवैधानिक कानुनमा आधारित यी पुस्तकहरू कानुनका विद्यार्थीहरूका लागि सहयोगी साबित हुने पटेलको विश्वास छ । 

यसैगरी असोज २ गते वीरगञ्जस्थित मधेश विश्वविद्यालयमा पनि पुस्तक वितरणसँगै अन्तरक्रिया कार्यक्रम गरिएको छ । पटेलले नै लेखेको २५ थान संवैधानिक कानुन पुस्तक मधेश विश्वविद्यालयका उपकुलपति प्राध्याक डा. दीपक शाक्यलाई हस्तान्तरण गरिएको हो । 

पुस्तक हस्तान्तरणपछि संविधानका बारेमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । यस अन्तरक्रियामा नेपालको संविधानका विविध पक्ष, ऐतिहासिक पृष्ठभूमि, र यसको कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे छलफल भएको पटेलले बताए । 

यस्तै साँझ वीरगञ्ज घंटाघरमा दीप प्रज्वलन गरिएको छ । संविधान दिवसलाई विशेष बनाउन आयोजित यस कार्यक्रममा वीरगञ्ज स्कुल अफ लका विद्यार्थी, शिक्षक, र स्थानीय समुदायका सदस्यहरूले सहभागिता जनाएका थिए । 

साताव्यापी कार्यक्रमअन्तर्गत बिहीबार बिहान वीरगञ्ज स्कुल अफ लको सभाहलमा नेपालको संविधान विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ । यस कार्यक्रममा कानुनका प्लस टू र बीएएलएलबीका विद्यार्थीहरूले नेपालको संविधानका विविध पक्षहरूबारे चर्चा गरेका थिए । 
 

Back to top