×

वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टोलाई सार्वजनिक सम्पत्तिको दुरुपयोग र अदालतको आदेशको अवहेलनाको आरोपमा उच्च अदालत वीरगञ्जले ७ दिनभित्र आफै उपस्थित हुन आदेश दिएको छ ।

उच्च अदालतले भुट्टोलाई अदालतको आदेशको अवहेलना गरेको भन्दै कारवाही प्रक्रिया अघि बढाएको हो । भुट्टोले सार्वजनिक सडकको अतिक्रमण गरी आफ्नो प्रतिनिधिमार्फत कब्जा गरेको, साथै अदालतको निर्देशनलाई बेवास्ता गर्दै व्यक्तिको निजी सम्पत्तिमा हस्तक्षेप गरेको आरोप लागेको छ । उनीमाथि निजी जग्गा कब्जा गरी ढलान कार्य गर्दै घर भत्काउने कार्यमा संलग्न भएको दाबी छ ।

अदालतमा परेको निवेदनमा, भुट्टोले कानुनी प्रक्रिया बिना नै निजी सम्पत्ति कब्जा गरेको र सार्वजनिक सडकमा आफ्नो नियन्त्रण कायम राखेको विषयमा अदालतले कारवाही गर्नुपर्ने माग गरिएको छ । यसै सन्दर्भमा, उच्च अदालत वीरगञ्जले गाउँपालिका अध्यक्ष भुट्टो र वडा अध्यक्षलाई ७ दिनभित्र आफै अदालतमा उपस्थित हुन निर्देशन दिएको छ ।

सम्पत्तिसम्बन्धी मौलिक अधिकारलाई हनन गर्न नपाइने संवैधानिक प्रावधान हुँदाहुँदै भुट्टोले डोजर प्रयोग गरी स्थानीयहरुको विरोधका बाबजुद बिना कुनै अनुमति निजी सम्पत्तिमा बनेको घर भत्काएको थियो । यस कार्यप्रति गाउँलेहरुले आपत्ति जनाए पनि अध्यक्ष भुट्टोले कानुन विपरीत कार्य गरेको स्थानीयले बताएका छन् ।

यसअघि, बिश्रामपुर गाउँपालिकामा रहेको एम्बुलेन्सको सेवा सम्बन्धी विवाद पनि सार्वजनिक भएको थियो । केही दिनअघि, ईटियाही निवासी मदन पटेलको छोराको उत्तराखण्डमा ट्रेन दुर्घटनामा निधन हुँदा गाउँपालिकाले एम्बुलेन्स उपलब्ध नगराएको आरोप लागेको थियो । 
 

Back to top