×

वीरगञ्ज । विश्रामपुर गाउँपालिकामा भ्रष्टाचारको आरोप व्यापक रूपमा उठेको छ। स्थानीयवासीले गाउँपालिकाका अध्यक्ष जुल्फुकार अली भुटो र प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेको मिलेमतोमा अनियमितता भइरहेको दाबी गरेका छन्।

जनगुनासो अनुसार, गाउँपालिकाका सबै योजनाहरू अध्यक्षका निकट आफन्तहरूको हातमा रहेको र दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गएको आरोप लगाइएको छ।

स्थानीयहरूको भनाइमा, विकास योजनाहरूमा बजेटको दुरुपयोग व्यापक भएको छ। गाउँपालिकाका योजना, बजेट, र विकास परियोजनाहरू अध्यक्षका आफन्तहरूले संयुक्त पार्टनरशिपमा सञ्चालन गरिरहेको तथ्य बाहिर आएको छ।

विशेष गरी प्रधानमन्त्री योजना कार्यक्रमको प्रमुखमा अध्यक्षकै छोरा सरफराज अलीलाई नियुक्त गरिएको विषयले थप शंका उत्पन्न गराएको छ। यसले पारदर्शिता र निष्पक्षतामा गम्भीर प्रश्नचिह्न खडा गरेको स्थानीयको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेविरुद्ध पटक–पटक भ्रष्टाचारको आरोप लाग्दै आएको छ। लामिछानेलाई ‘भ्रष्ट अधिकृत’ को रूपमा चिन्न थालिएको छ भने, अध्यक्ष जुल्फुकार अलीको पनि यस्ता अनियमिततामा प्रत्यक्ष संलग्नता रहेको जनगुनासो छ। दुबै जनाको मिलेमतोले गाउँपालिकालाई आर्थिक र विकासात्मक रूपमा कमजोर बनाएको स्थानीयहरूको भनाइ छ।

स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रलाई छानबिन गरी दुबै जनालाई तत्काल कारबाही गर्न आग्रह गरेका छन्।

Back to top