×

वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले बर्तमान संविधानको खारेजीको माग गर्दै वीरगञ्जमा आज अन्त्येष्टि यात्रा निकालेको छ। यो प्रदर्शनको क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, तथा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह, राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतलाई पक्राउ गरेको छ।

प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ परेका नेताहरुलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ। पक्राउ परेकाहरुमाथि संविधान विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कारबाही हुने बताइएको छ, यद्यपि कुन मुद्दामा कारबाही गर्ने भन्ने विषयमा अझै निर्णय भएको छैन।

संबिधान दिवसको अवसरमा सरकारको उत्सव मनाइरहेको बेला आजपाले देशभर संविधानको खारेजीको माग गर्दै प्रदर्शन गरेको छ। आजपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीको धरपकड र हस्तक्षेपको कडा भर्त्सना गरेका छन्। उनले पक्राउ परेका नेताहरुलाई यथाशीघ्र रिहा गर्न माग गर्दै राज्यद्वारा गरिएका यी कार्यलाई अलोकतान्त्रिक भनेका छन्।

प्रदर्शनकारीहरूले संविधानको आलोचना गर्दै यसको खारेजीको माग गरिरहेका छन्, भने सरकारले सम्बोधन गर्ने दृष्टिकोणमा भने स्पष्टता दिएको छैन।

Back to top