×

वीरगञ्ज। संविधान दिवसको अवसरमा इन्टरेक्ट क्लब ज्ञानदा एकेडेमीले बास्केटबल प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रम ज्ञानदा एकेडेमीको बहुउद्देशीय सभाहलमा सम्पन्न भएको थियो। प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयहरूको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन पानसमा दियो प्रज्वलन गरेर गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिहरूमा रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष निर्मल खत्री, डा. शास्वत प्रसाद, डि. डि. केडिया, सोहन पोद्धार, योगेश जयसवाल, विवेक पटेल, डा. आनन्द कुमार झा, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, सहायक प्रधानाध्यापिका जागृति मिश्रा, शैक्षिक प्रमुख सन्ध्या वशिष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्यमा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले खेलकुद स्वास्थ्यका लागि अत्यन्त जरुरी रहेको र विद्यार्थीहरूले अध्ययनसँगै खेलकुदमा पनि ध्यान दिनुपर्ने बताए। उनले हार र जीत सामान्य प्रक्रिया भएकोले निरन्तर प्रयास गर्नुपर्ने र संविधानको मूल्य र मान्यतालाई सम्झँदै जिम्मेवार नागरिक बन्न प्रेरित गरे।

रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष खत्रीले यस प्रकारका प्रतियोगिता आगामी दिनहरूमा पनि आयोजना गर्ने र खेलाडीहरूको मनोबल बढाउन क्लबले सहयोग जारी राख्ने बताए।

प्रतियोगितामा ज्ञानदा एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल, श्री ३ चन्द्र मावि, बाल एकता मावि र दिल्ली पब्लिक स्कूलले सहभागिता जनाएका थिए। पहिलो चरणमा ग्यालेक्सी पब्लिक स्कूलले श्री ३ चन्द्र माविलाई ६५ अंकले पराजित गर्दै विजयी भयो। दोस्रो चरणमा ज्ञानदा एकेडेमीले दिल्ली पब्लिक स्कूललाई २२ अंकले हरायो। तेस्रो चरणमा ग्यालेक्सी पब्लिक स्कूलले बाल एकता माविलाई ३७ अंकले पराजित गर्दै विजयी हासिल गर्‍यो। चौथो चरणमा ज्ञानदा एकेडेमी र श्री ३ चन्द्र माविबीचको खेल २०–२० को बराबरीमा टुङ्गिएको थियो।

प्रतियोगिताको बाँकी खेल भोलि हुने जानकारी आयोजक ज्ञानदा एकेडेमीले दिएको छ।

Back to top