×

वीरगञ्ज । पर्साको सखुवा पर्सौनी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको प्राङ्गणमा संविधान दिवस २०८१ भव्य रूपमा मनाइएको छ। संविधान दिवसको अवसरमा दीप प्रज्वलन गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गानको धुनमा विशेष समारोह गरिएको थियो।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संविधानप्रति सलामी अर्पण गरेका थिए। सखुवा पर्सौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यादवले देश र जनताका माग सम्बोधन गर्दै समयसापेक्ष संविधान निर्माण भएको बताएका थिए। साथै, सरकारले छुटेका माग पूरा गर्नुपर्ने धारणा व्यक्त गर्दै शुभकामना सन्देश दिएका थिए।

समारोहमा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापा, शस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बगेश्वरी तितरौनाका शस्त्र प्रहरी निरीक्षक चाम नरायण, इलाका प्रहरी कार्यालय एकटांगाका प्रहरी नायब निरीक्षक अरविन्द यादवलगायतका सुरक्षाकर्मी उपस्थित थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, गाउँपालिकाका सम्पूर्ण कर्मचारी, विद्यालयका शिक्षक तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियाले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शाखा अधिकृत अरविन्द ठाकुरले गरेका थिए।

Back to top