×

वीरगञ्ज। वीरगञ्जमा आयोजित मिटरब्याज समस्या तथा समाधानसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले साहुमहाजनहरूले साँवाभन्दा बढी ब्याज रकम तिरेर पनि ऋणमुक्ति नगरेको गुनासो व्यक्त गरेका छन्।

मिटरब्याजीविरुद्ध किसान मजदूर आन्दोलन भोजपुरा कमान्ड पर्साद्वारा आयोजित कार्यक्रममा पीडितहरूको पीडा सुनेर सम्बन्धित निकायलाई जानकारी गराई समस्या समाधानको प्रयास भइरहेको जनाइएको छ।

कार्यक्रममा वीरगञ्ज महानगर अध्यक्ष शम्भुप्रसाद यादवले तराई क्षेत्रमा मिटरब्याजीहरू गरीब निमुखालाई थिचिरहेको बताए। यादवले पीडितहरूको पक्षमा सामाजिक र कानुनी न्याय दिलाउन आफूहरू प्रयासरत रहेको उल्लेख गरे।

पर्सा जिल्लामा मिटरब्याजको उजूरीबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले हालसम्म २,१४० वटा उजूरी परेको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले २०८० माघ १७ गतेदेखि यस्ता उजूरीको जिम्मा प्रहरीले पाएको र त्यसयता प्रहरीमार्फत ५४० नयाँ उजूरीहरू दर्ता भएका छन्। अहिलेसम्म १,१५२ उजूरीहरू मेलमिलापमार्फत टुंग्याइएको र १,०३६ उजूरीहरू अझै बाँकी रहेको छ।

कार्यक्रममा बोल्दै केही पीडितहरूले ऋणको साँवा र ब्याज तिरेर पनि जग्गा आफ्नो नाममा नगरेको गुनासो गरे। विक्रम ठाकुर र लालबाबू यादवले थोरै रकम दिएर ठूलो तमसुक बनाउने र चेक बाउन्स गराएर उल्टै कारबाहीमा पार्ने जस्ता परम्पराको अन्त्य हुनुपर्ने बताए।

कार्यक्रममा सहभागीहरूले अनाहक साहुमहाजनको चक्करमा फस्ने घटनामा कमी आए पनि समस्या समाधानका लागि थप कदम उठाउनु जरुरी रहेको औँल्याए।

Back to top