×

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा देशवासीलाई शुभकामना दिँदै, संविधानले दिएको स्वतन्त्रताको सही उपयोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन्।

आज संविधान दिवसको अवसरमा आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानको प्रतिफलस्वरूप प्राप्त संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्। उनले यो संविधानले सबै खाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुको संरक्षण गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, "यो संविधानले हामीलाई प्राप्त अधिकारहरूको सुरक्षा र संरक्षण गरिदिएको छ। यसको सही संरक्षण गरेरमात्रै हामीले उपभोग गरेका अधिकारहरूको रक्षा हुन सक्छ।" उनले सबै नागरिकलाई संविधानले दिएको अधिकार र स्वतन्त्रताको महत्व बुझ्न र त्यसको रक्षा गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले दुई दशकअघिको निरंकुशता सम्झँदै, यो पुस्ताले पनि त्यस समयको अन्धकार सम्झन नछोड्नुपर्ने बताए। "स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा दुई दशक अगाडिको निरंकुश समाजको चित्र हाम्रो मस्तिष्कमा आउँछ," उनले भने।

उनले संविधानले दिएको स्वतन्त्रताको सही उपयोग गरेर देशको भविष्य सुरक्षित गर्नुपर्ने र त्यसैमा देशको प्रगति सम्भव हुने धारणा व्यक्त गरे।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको बलियो आधारको रूपमा संविधानको महत्वलाई पुनः स्थापित गर्दै, यसको संरक्षण र पालनामा सबैलाई प्रतिबद्ध रहन आग्रह गरेका छन्।

Back to top