×

धनुषा । हिन्दूहरूको आस्थाको केन्द्र मानिने जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा फेरि चोरीका घटनाहरू बढ्न थालेका छन्। मन्दिर परिसरभित्रै श्रद्धालु तीर्थयात्रीहरूका गरगहनाहरू चोरी हुन थालेपछि सुरक्षा व्यवस्थाबारे प्रश्न उठ्न थालेको छ। बुधबार मन्दिरको गर्भगृह अगाडि दर्शनका क्रममा आधा दर्जन महिलाका सुनका गहना चोरी भएको छ।

पछिल्लो पटक आरती पूजा भइरहेका बेला भारतबाट आएका श्रद्धालु महिलाहरूका घाँटीबाट दुईवटा सुनका सिक्री चोरिएको थियो। ५४ जनाको समूहमा रहेका ती महिलाहरूको सिक्री चोरी भएपछिको घटनाले मन्दिरको सुरक्षा प्रणालीमाथि शंका उत्पन्न गरेको छ। यसअघि चोरी न्यूनीकरणका लागि मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो र गर्भगृह अगाडि फलामे बार्केट राखिएको थियो, जसले चोरीलाई केही हदसम्म नियन्त्रण गरेको थियो। तर, बुधवार भीडभाडका कारण बार्केट हटाइएपछि पुनः चोरीका घटना बढेको बताइएको छ।

स्थानीय श्रद्धालुहरूका अनुसार गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सिसिटिभी क्यामेरा नजडान भएको कारण चोरी सहज रूपमा भइरहेको छ। मन्दिरमा सुरक्षा सुनिश्चित गर्न पर्यटन प्रहरीको उपस्थिति भए पनि हालसम्म चोरी गरिएका गहना फिर्ता हुन सकेका छैनन्, न त चोर नै समातिएका छन्।

धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले चोरीमा संलग्न व्यक्तिलाई चाँडै पक्राउ गरिने र चोरी भएका गहनाहरू बरामद गरिने बताएका छन्। मन्दिरमा थप सुरक्षा कडा बनाउँदै चोरी नियन्त्रण गर्न विशेष अनुसन्धान सुरु गरिएको उनले जनाएका छन्।

मन्दिरको सुरक्षा व्यवस्था

मन्दिरमा तीर्थयात्रीहरूलाई सुरक्षित वातावरण प्रदान गर्न, मन्दिर परिसरमा सिसिटिभी क्यामेरा र पर्यटन प्रहरी राखिएको भए पनि चोरीका घटनाले सुरक्षा व्यवस्थामा त्रुटि रहेको देखाएको छ। प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेका छन्, किनकि चोरीका घटनाहरूको पहिचान र नियन्त्रण प्रभावकारी भएको छैन।

मन्दिर प्रशासन र स्थानीय प्रहरी मिलेर मन्दिरको सुरक्षा अझ सुदृढ गर्ने योजना बनाउँदै छन्, ताकि श्रद्धालुहरूले बिना त्रास पूजा–अर्चना गर्न सकून्।

Back to top