×

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले मध्यम योगफल तयार गरेको छ ।

क्यानडाको किङ्ग सिटीमा जारी खेलमा नेपालले ओमानलाई २ सय २१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे । कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए । रोहित महत्वपुर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए ।

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए । झाले ३१ बलमा आफ्नो चौथो ओडिआई अर्धशतक पूरा गरेका थिए । महतवपुर्ण रन बनाउदै झा फैयज बटको बलमा आयान खानबाट समातिए ।

एक समय ३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे । आरिफले ८८ बलमा ३५ रन बनाउदै सकिल अहमदको बलमा कट बिहाइन्ड भए ।

सोमपाल कामी ८ बलमा २० रनमा आउट हुदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे । त्यसअघि ओपनर अर्जुन साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए ।

करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउँदै आउट भएका हुन् । अर्जुन कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए ।

अर्का ओपनर आसिफ शोयब खानको बलमा ११ औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउँदै आउट भएका हुन् ।

ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए । यो संस्करणमा ४ खेल खेल्दा ओमान ३ अंकका साथ छैटौं स्थानमा तथा नेपाल ५ खेलबाट २ अंकका साथ सातौं स्थानमा छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । ओमानले भने यो सिरिजमा पहिलो खेल खेल्दैछ ।

नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

Back to top