×

वीरगञ्ज । वीरगञ्जमा नेपाल मेडिसिटी वयोधा अस्पताल र जैन तेरापन्थ समाजको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ९६ जनाको स्वास्थय परीक्षण गरिएको थियो । जसमा उनीहरूले विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परामर्श, निःशुल्क औषधि तथा रक्त परीक्षण सेवाहरू प्राप्त गरेका थिए ।

स्वास्थ्य शिविरमा डा. मनबोध कुमार साह, डा. रश्मी गिरि, डा. आनन्द रौनियार, र डा. हरीश जमालको नेतृत्वमा विशेषज्ञ सेवा प्रदान गरिएको थियो । यस अवसरमा अस्पतालको नर्सिङ स्टाफले पनि सक्रिय रुपमा सहयोग गरेका थिए । शिविरमा रक्तचाप, मधुमेह, हृदय रोग, छालासम्बन्धी समस्या, र अन्य सामान्य स्वास्थ्य समस्याहरूको परीक्षण गरिएको थियो ।

विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य समस्याको गहिरो परीक्षण गर्दै उनीहरूलाई उचित परामर्श र आवश्यक औषधि वितरण गरेका थिए । समुदायमा स्वास्थ्य सेवाको पहुँच पु-याउन यो शिविरले महत्वपूर्ण योगदान पु-याएको डा. मनबोध कुमार साहले बताए । स्वास्थ्य शिविरका प्रमुख डाक्टर, डा. मनबोध कुमार साहले भने, “नेपाल मेडिसिटीले समुदायको स्वास्थ्यप्रति देखाएको यो जिम्मेवारी अनुकरणीय छ । यस्ता पहलहरूले जनतालाई नजिकबाट स्वास्थ्य सेवामा पहुँच पु-याउन सहयोग गर्दछ ।”

स्वास्थ्य शिविरमा आएका एक बिरामीले आफ्नो अनुभव यसरी सुनाए, “नेपाल मेडिसिटी जस्तो प्रतिष्ठित अस्पतालले यस्ता निःशुल्क स्वास्थ्य सेवाहरू संचालन गरिरहेको देख्दा म अत्यन्त खुशी छु । यसले हामीजस्ता सर्वसाधारणलाई ठूलो राहत प्रदान गरेको छ । जाँच र औषधिको खर्च निःशुल्क हुँदा धेरैको आर्थिक बोझ कम भएको छ ।”

नेपाल मेडिसिटी र वयोधा अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर समुदायमा स्वास्थ्य सचेतना बढाउन र आवश्यक सेवाहरू सहज तरिकाले उपलब्ध गराउन यो प्रयास गरेका हुन् । अस्पतालले जनकल्याण अभियान अन्तर्गत स्वास्थ्य सेवालाई जनसाधारणको पहुँचमा पु-याउनका लागि यस किसिमका शिविरहरू निरन्तर आयोजना गर्ने योजना बनाएको छ ।

Back to top