×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मा पर्ने भेडाहा खोलाको आसपासको ठाउँमा विरुवा रोपिएको छ । श्रीजंग गणले बुधबार भेडाहा खोलाको आसपासको खुल्ला ठाउँमा पाँच हजार बिरुवा रोप्ने अभियानको सुरुवात गरेको हो ।

श्रीजंग गणका गणपति एवं प्रमुख सेनानी निराजन कटुवालले चुरे क्षेत्रमा  वनजंगलमा अतिक्रमणमा परेकाले पनि सो ठाउँमा हराभरा बनाउन विरुवा रोपिएको जानकारी दिए । ‘‘चुरे क्षेत्रको वनजंगल प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणको कारणले मासिने क्रम वृद्धि भइरहेको छ,’’ उनले भने,‘‘अहिले चुरेलाई नजोगाउने हो भने भविष्यका नयाँ पिढिँले विभिन्न खालका समस्यासँग जुध्नुपर्ने हुन्छ । त्यसैले भावी पिढिँलाई जोगाउनको लागि पनि अहिले विरुवा रोपेर चुरे जोगाउन खोजेका हौं ।’’

प्रमुख सेनानी कटुवालकाअनुसार गणले यो पटक पाँच हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ । ‘‘चुरे संरक्षणका लागि आजदेखि विरुवा रोप्न सुरुवात गरेका छौं’’ उनले भने, ‘‘यो अभियान पाँच हजार बिरुवा नरोपेसम्म रोकिदैंन ।’’ प्रमुख सेनानी कटुवालले आफू मातहतका निकायलाई नियमित बिरुवाको हेरचाह र संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए । 

सबैया सबडिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रवेश प्रसादकाअनुसार विभिन्न किसिमका आधा दर्जन प्रजातिका विरुवा रोपिएको छ । विशेष गरी सतिसाल, अमला, सागवान, सिसौ, लहरेपिपल लगायतका प्रजातिका बिरुवा रोपिएको उनले जानकारी दिए ।

प्रमुख सेनानी कटुवालले आफू मातहतका निकायलाई अवैध वनजंगल फडानी गर्ने र वन्यजन्तुको चोरी शिकारी गर्ने माथि पनि निगरानीमा राखेर आवश्यक कारवाही गर्न पनि निर्देशन दिएका छन् ।  

सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, विद्यार्थी तथा स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

Back to top