×

वीरगञ्ज । चाडवाड नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारीलाई लक्षित गर्दै वीरगञ्जमा बजार अनुगमन गरिएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा वीरगञ्ज बजारमा अनुगमन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय पर्सा, खाद्य प्रविधि तथा गुणस्तर नियमन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू सम्मिलित टोलीले वीरगञ्जका  विभिन्न पसलहरुमा अनुगमन गरेको हो । 

वीरगञ्ज ११ स्थित न्यु अमित किराना स्टोर्स, वीरगञ्ज ८ स्थित आयुष गल्ला किराना पसल, वीरगञ्ज ६ स्थित मुकेश एण्ड केशरी किराना स्टोर्स, राहुल एण्ड नविन किराना, मुन्ना लाल किराना लगायतलाइलाई जरिवाना तिराइएको छ । 

खरिद बिल नदेखाएको हुँदा ती पसलहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ अनुसार क्रमशः रु १० हजार र रु पाँच हजारका दरले जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए । उनकाअनुसार अनुगमन कार्यमा असहयोग गरेको आरोपमा राहुल एण्ड नविन किरानालाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो । 

वीरगञ्ज ११ स्थित पिन्टु किराना भण्डारमा सामान्य समस्या देखिएपछि सजग गराइएको खत्वेले बताए । उक्त पसलहरूलाई जरिवाना रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।  

चाडपर्वको समयमा उपभोक्ताहरूलाई अत्यधिक मूल्य नलिन, गुणस्तरहीन र म्याद नाघेका सामान बिक्री नगर्न व्यापारीहरूलाई सचेत गराउनुका साथै नियम विपरीत काम गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी पनि उनले दिए । 

 

Back to top