×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सिमलताल पहिरोमा परी बेपत्ता भएका एन्जल बसका चालक जवाहिर महतोका दुई बालबालिकाको निशुल्क पठनपाठनको व्यवस्था मिलाएका छन्।

वीरगञ्ज वडा नम्बर १६ नगवा निवासी महतोका छोरा श्याम कुशवाह र बिट्टु कुशवाहलाई प्रमुख सिंहले निशुल्क अध्ययनको सुविधा प्रदान गरेका हुन्।

बालकहरुको पठनपाठनको व्यवस्था नगवा स्थित सनलाइट माध्यमिक विद्यालयमा गरिएको हो। श्याम कुशवाह कक्षा ४ मा र बिट्टु कुशवाह कक्षा १ मा अध्ययनरत छन्। विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले महानगर प्रमुखको अनुरोधमा दुबै बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय भएको जानकारी दिए।

गत असार २८ गते नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरो जाँदा, वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको एन्जल डिलक्स बसलाई पहिरोले बगाई त्रिशूली नदीमा खसेको थियो। बसमा सवार चालक जवाहिर महतो सहित अन्य व्यक्तिहरु बेपत्ता भएका थिए।

महानगर प्रमुख सिंहले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बालबालिकाहरुको भविष्य सुनिश्चित गर्न यस किसिमको सहयोगको व्यवस्था मिलाएका हुन्।

Back to top