×

रौतहट । आम विधार्थी मोर्चाले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको अभाव रहेको भन्दै आन्दोलन सुरु गरेको छ। आज राष्ट्रिय शिक्षा दिवस मनाइरहँदा मधेसका विधार्थीहरू शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित सडकमा उत्रिएका छन्। गौरमा आयोजित प्रदर्शनमा विधार्थी, शिक्षक, अभिभावक र स्थानीयको सहभागिता रहेको थियो।

आम विधार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाले वीरगंजमा नेतृत्व गरेका थिए भने केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरूले शिक्षकको अभावले मधेसको शिक्षा प्रणालीलाई प्रभावित बनाएको आरोप लगाएका छन्।

विधार्थी मोर्चाका अध्यक्ष साहले पटक–पटक सरकारलाई शिक्षकको व्यवस्था गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन्। “मधेसको शिक्षालाई सरकारले योजनाबद्ध रूपमा तहसनहस गर्न खोजिरहेको छ,” उनले भने। साहले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराईमाथि मधेस विरोधी गतिविधिमा संलग्न भएको आरोप समेत लगाएका छन्।

आज राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रधानमन्त्री र शिक्षामन्त्रीले दिएको शुभकामनाको आलोचना गर्दै कुशवाहाले भने, “हामीलाई शुभकामना भन्दा पनि शिक्षकको व्यवस्था गरिदिएको भए आभारी हुन्थ्यौं।” उनले शिक्षकको अभाव रहेकोले विद्यार्थीहरूको भविष्यसँग खेलबाड भइरहेको बताए।

आन्दोलनको क्रममा विधार्थी मोर्चाले मधेस प्रदेशभर प्रदर्शन गरिरहेको छ। आजपाले पनि आन्दोलनलाई समर्थन गर्दै कार्तिक ५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ। यसअघि, भदौ २५ देखि ३० सम्म विद्यालयस्तरीय संघर्ष समिति गठन गर्ने, असोज २ देखि ४ सम्म विशेष प्रदर्शन गर्ने, असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

शिक्षा ऐनअनुसार तराई मधेसमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको भए पनि सो मापदण्डअनुसार शिक्षकको व्यवस्था नगरेकोमा आक्रोशित विद्यार्थीले सरकारको ध्यानाकर्षण गराएका छन्।

आजपाका अध्यक्ष प्रभु साहले पनि प्रधानमन्त्री ओलीमाथि मधेस विरोधी गतिविधिमा लागेको गम्भीर आरोप लगाएका छन्। फेसबुक मार्फत साहले ओली सरकारको राणाकालीन शैलीमा तर्साउने कार्यलाई भत्र्सना गरेका छन्।

आन्दोलनमा उत्रिएका विधार्थी, शिक्षक र अभिभावकहरूलाई धन्यवाद दिँदै साहले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारलाई कडा चेतावनी दिएका छन्।

Back to top