×

वीरगञ्ज। मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन भोजपुरा कमान्ड पर्साको आयोजनामा मंगलबार वीरगञ्जमा मिटर ब्याजसम्बन्धी समस्या समाधानका लागि अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न भएको छ।

उक्त कार्यक्रम मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलनका पर्सा अध्यक्ष कृष्ण राज ठाकुरको अध्यक्षतामा र वीरगञ्जको रानीसति धर्मशालामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष अवधेश कुश्वाहाले मिटर ब्याजसम्बन्धी समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो। उहाँले मधेसका धेरै परिवार मिटर ब्याजका कारण पीडित रहेको उल्लेख गर्दै ती परिवारको पीडा अन्त्य गर्न आफूहरू सक्रिय रहेको पनि बताउनुभयो।

नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले शोषित, उत्पीडित र मजदुरविरुद्ध लाग्ने कुनै पनि व्यक्ति कम्युनिष्ट हुन नसक्ने भन्दै सम्पूर्ण कम्युनिष्ट पार्टीलाई मिटर ब्याज पीडितको पक्षमा लाग्न आग्रह गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका नेता जालिम मियाँ, मिटर ब्याज विरुद्ध किशान मजदुर आन्दोलन बाराका उपाध्यक्ष शिवदयाल पासवान, पर्साका प्रवक्ता मुकेश पटेल, जिल्ला कोषाध्यक्ष रेश्म कुश्वाहालगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वीरगञ्ज महानगर अध्यक्ष शम्भु यादवले गर्नुभएको थियो।

Back to top