×

वीरगञ्ज। दशैंको मुखमा भारतले बासमती चामल र प्याजमा लगाउँदै आएको न्यूनतम निर्यात मूल्य (एमईपी) हटाएपछि नेपाली उपभोक्तालाई केही राहतको सम्भावना देखिएको छ। भारत सरकारको यो निर्णयले नेपाली बजारमा बासमती चामल र प्याजको भाउमा गिरावट आउने अपेक्षा गरिएको छ।

भारतले प्याजमा निर्यात शुल्क ४० प्रतिशतबाट घटाएर २० प्रतिशत पुर्‍याएको छ भने बैंगलोर गुलाब प्याजमा भने कुनै निर्यात शुल्क नलाग्ने बताइएको छ। नेपाल बासमती चामल र प्याजको लागि मुख्य रूपमा भारतमै निर्भर छ। यसअघि भारतले प्रति मेट्रिक टन बासमती चामलमा ९५० अमेरिकी डलर र प्याजमा ५५० अमेरिकी डलर एमईपी निर्धारण गरेको थियो। यससँगै, प्याजमा आधा निर्यात शुल्क घट्दा नेपाली व्यवसायी र उपभोक्तालाई राहत हुने विश्वास गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीका अनुसार बासमती चामल र प्याजमा एमईपी हटाउँदा नेपालको बजारमा यी वस्तुको भाउ घट्न सक्ने अनुमान गरिएको छ। यद्यपि, भारतले बासमतीबाहेकका मोटा चामलमा लगाएको २० प्रतिशत निर्यात शुल्क भने हटाएको छैन, जसले गर्दा नेपाली उपभोक्ताले मोटा चामलको मूल्यमा राहत पाउन नसक्ने देखिएको छ। भारतले मोटा चामलमा निर्यात प्रतिबन्ध कायम राखे पनि नेपालका लागि ९५ हजार मेट्रिक टन चामलको निर्यात कोटा तोकेको छ।

नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालका अनुसार अहिले बासमती चामलको मूल्य प्रतिकिलो १६० रुपैयाँ र मोटा चामलको १०० रुपैयाँ रहेको छ। बासमती चामलको मूल्य घटेमा उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा छ, तर धेरैजसो सर्वसाधारणले मोटा चामल प्रयोग गर्ने हुँदा त्यसको मूल्यमा हेरफेर भएमा बढी राहत हुने उनले बताए।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार कालीमाटीमा करीब ९९ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ११२ रुपैयाँ रहे पनि खुद्रा बजारमा यसको मूल्य १५० रुपैयाँसम्म छ। भारतको यो निर्णयले नेपाली बजारमा प्याजको भाउ घट्ने अपेक्षा गरिएको छ।

नेपालमा प्याज उत्पादन न्यून रहेकाले नेपाल भारतकै प्याजमा निर्भर छ। विगतमा नेपाल सरकारले प्याज मिसन कार्यक्रम सञ्चालन गरे पनि अनियमितता र योजनाको असफलताका कारण आत्मनिर्भरता प्राप्त गर्न नसकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए।

भारत सरकारको विदेश व्यापार महानिर्देशनालयले यसअघि किसानलाई लाभ पुर्‍याउने उद्देश्यले प्याज र बासमती चामलमा निर्यात प्रतिबन्ध लगाएको थियो, तर अहिले उक्त प्रतिबन्ध हटाएर किसानको आय वृद्धि गर्न यो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

Back to top