×

बारा । बाराको पचरौता नगरपालिका वडा नं. ४, बेलदारीस्थित नगर अस्पतालमा अब चौबीसै घण्टा एमबीबीएस चिकित्सकले सेवा दिने व्यवस्था गरिएको छ।

पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले मेडिकल अधिकृत अखिलेश अधिकारीलाई औपचारिक नियुक्ति पत्र प्रदान गरेसँगै पुनः उच्च स्तरको चिकित्सक सेवा उपलब्ध हुने भएको हो।

नगर अस्पतालमा केही समयदेखि अवरुद्ध रहेको चौबीसै घण्टे सेवा पुनः सुचारु भएपछि विशेषगरी पचरौता नगरपालिका र आसपासका बिरामीहरूलाई स्वास्थ्य परीक्षणमा सहजता मिल्ने नगर प्रमुख सिंहले जानकारी दिए।

अस्पतालबाट बहिरङ्ग सेवा, आकस्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, र प्रयोगशाला सेवाजस्ता विभिन्न सेवा उपलब्ध गराउने काम भइरहेको छ।

नगर प्रमुख सिंहका अनुसार, बेलदारी नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने दिशामा नगरपालिकाले निरन्तर पहल गरिरहेको छ।

उनले नगरवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै नगरपालिका सम्पूर्ण रूपमा तयार रहेको र आगामी दिनहरूमा स्वास्थ्य सेवामा थप सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। यस कदमले पचरौता र आसपासका ग्रामिण क्षेत्रका नागरिकहरूलाई प्रभावकारी स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने सुनिश्चितता गरेको छ।

Back to top