×

वीरगञ्ज। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले उपभोक्ता तथा उपभोक्तावादी संघ संस्थालाई जानकारी नदिई वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा औद्योगिक ट्रान्स फ्याट नियमन सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ।

गोष्ठीमा प्रमुख सरोकारवालाहरूको उपस्थिति रहे पनि, उपभोक्ता हित संरक्षणमा क्रियाशील संघ संस्थालाई कार्यक्रममा सहभागी नगराइनु सम्बन्धमा प्रश्न उठेको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीका अनुसार यसअघि भएका कार्यक्रममा सम्बन्धित संघ संस्थालाई नियमित रूपमा बोलाइन्थ्यो। तर यस पटक विशेष गरी बेकरि सटिङ घ्यू र पूजा घ्यू उत्पादन गर्ने व्यापारीहरूलाई मात्र निमन्त्रणा गरिएको थियो।

यो अन्तरक्रिया कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मधेस प्रदेशका हस्त राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सह-आयोजक वीरगञ्ज उद्योग वाणिज्य संघले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा दिन व्यापारीहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउन प्रयास गरेको बताइए पनि, चाडपर्वको समयलाई ध्यानमा राख्दै उपभोक्ता अधिकार संरक्षणका सवालमा उठेका प्रश्नहरू भने अनुत्तरित नै रहेका छन्।

उपभोक्ता हित संरक्षणमा कार्यरत संघ संस्थाले व्यापारीसँगको सम्बन्धलाई मात्र प्राथमिकता दिएर उपभोक्ता अधिकारलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

Back to top