×

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापसमा अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको  छ। 

यतिबेला (बुधबार बिहान) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

त्यसैगरी आज राति कोसी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

Back to top