×

बारा । मधेसका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनको घोषणा गरेको आम जनता पार्टी (आजपा)ले शिक्षा विकास तथा समन्वय इकाइ बाराका प्रमुख हेमराज खतिवडालाई जनकारबाहीको धम्की दिएको छ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खतिवडाले गत आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विद्यालयहरूमा कुनै पनि प्रकारको राजनीतिक गतिविधि गर्ने वा गराउने प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका थिए। खतिवडाको यो चेतावनीपछि आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खतिवडाको कदमलाई पक्षपाती, संकीर्ण र गैरजिम्मेवार ठहर गरेका छन्।

कुशवाहाले विज्ञप्तिमा खतिवडाको चेतावनीलाई एकल जातीय र नश्लीय चिन्तनबाट प्रभावित रहेको आरोप लगाउँदै यस्ता सरकारी कर्मचारीहरू मधेसको विकासको बाधक रहेको दाबी गरेका छन्। उनले खतिवडालाई सरकारले कारबाही नगरे जनस्तरबाट निर्मम कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

आम जनता पार्टीले मधेसका विद्यालयमा शिक्षकहरूको व्यवस्थापनलाई सुनिश्चित गर्न र मधेसको शैक्षिक अवस्थालाई सुधार गर्न संघर्ष समिति गठन गर्ने अभियान चलाइरहेको छ।

यस सन्दर्भमा, कुशवाहाले सरकारलाई सचेत गराउँदै भने, "यदि खतिवडालाई कारबाही नगरे जनस्तरबाटै कडा कदम चाल्न बाध्य हुनेछौँ र त्यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनेछ।"

मधेसमा शिक्षक र प्रशासनबीचको यो विवादले आगामी दिनमा थप तनाब सिर्जना गर्ने सम्भावना बढेको छ।

Back to top