×

रौतहट । गौर स्थित प्रादेशिक अस्पतालमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। बा.एडि ९०६४ नम्बरको गाडीमा आएको अख्तियारको टोलीले अस्पतालको स्टोर रुममा खरिद भएको औषधि र उपकरणहरू भए-नभएको जाँच गरी मुचुल्का तयार पारेको हो।

श्रोतका अनुसार, टोलीले आवश्यक परिमाणमा उपकरण र औषधि फेला नपरेपछि मुचुल्कामा सो विवरण समावेश गरिएको छ। छापापछि टोलीले स्टोरकिपर राम अश्रे मुखियासँग केही समय सोधपुछ गरेपछि फर्किएको बताइएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।

अस्पतालका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताएका छन् कि अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले औषधि उपकरण खरिद प्रक्रियादेखि भवन मर्मत र टेन्डर प्रक्रियासम्ममा व्यापक भ्रष्टाचार गरेको आरोप छ।

स्रोतका अनुसार, टेन्डर प्रक्रिया गोप्य रुपमा गरि, टिकट काउन्टरको रकम, ईन्धन, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना, र निजी क्लिनिक तथा ल्याबसँगको मिलेमतोमा लाखौं रकम अनियमितता गरिएको छ।

स्थानीय बासिन्दाले अस्पतालमा भ्रष्टाचार र अनियमितताको चर्को आलोचना गर्दै सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि उनीहरू मौन रहेको गुनासो गरेका छन्।

अस्पतालमा कर्मचारीहरु अध्यक्ष साहमी र मेडिकल सुपरिटेन्डेन्ट ठाकुरको अनियमितता छानबिन हुँदा आफूहरू फस्ने त्रासमा रहेको बताइएको छ। केही चिकित्सकहरूलाई सरुवाको डर देखाई दबाब दिने र हप्काउने प्रयास गरिएको आरोप पनि लागेको छ।

सम्बन्धित निकायले यस विषयमा छिटो छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै स्थानीय नागरिकहरू आक्रोशित भएका छन्।

Back to top