×

फोटो फेसबुक पेजबाट

बारा । किराना व्यापार संघले बारा उद्योग वाणिज्य संघको आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। संघको सोमबारको बैठकमा यो निर्णय गरिएको हो। संघले उम्मेदवारहरूको उम्मेदवारी फिर्ता लिइएको र निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिएको छ।

कोषाध्यक्ष पदका उम्मेदवार राजेश गुप्ता, सचिव पदका उम्मेदवार दिपलाल साह, सदस्यपदका उम्मेदवार दिनदयाल साह, संजयकुमार पटेल, देव कुमार साह, शोभाकुमारी सर्राफ, अन्जनी कुमार साह, विशाल कुमार साह, र बाबु योगेन्द्र कुमारको उम्मेदवारी फिर्ता गरिएको छ।

संघका अध्यक्ष सुनिल कुमार साहका अनुसार, उद्योग वाणिज्य संघ बारा एक महत्वपूर्ण आवाज उठाउने संस्था हो। तर, हालैका दिनमा संघका पदाधिकारीहरूले आक्रमण, अभद्र व्यवहार र कुटपिट गर्ने गतिविधिहरू गरेको आरोप लगाउँदै निर्वाचन बहिष्कारको निर्णय गर्नुपरेको उल्लेख गरे। उनले भने, “हाम्रो संघको सदस्यलाई गालीगलौज र कुटपिटको सामना गर्नु परेको छ, जसले गर्दा हामीलाई यस्तो निर्णय लिन बाध्य बनायो।”

महासचिव पदका उम्मेदवार सन्तु साहको पसल अगाडि उम्मेदवारी फिर्ता लिने विषयमा चर्चा भइरहँदा, उपाध्यक्ष पदका उम्मेदवार गोल्डेन प्रदीप साहले सचिव पदका उम्मेदवार दिपलाल साहमाथि आक्रमण गरेको दावी गरिएको छ।

संघले बारा उद्योग वाणिज्य संघमा वाणिज्यतर्फ ५७२ र उद्योगतर्फ ९२ जना मतदाता रहेका जानकारी दिएको छ।

Back to top