×

काठमाडौं: इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडीईए नेपाल) ले पहिलो पटक काठमाडौँमा 'आईडीईए एक्सिलेन्स अवार्ड' आयोजना गर्दै इन्टेरियर डिजाइन क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको छ। शुक्रबार आयोजित यो कार्यक्रमले डिजाइनरहरू, विद्यार्थी, पेशेवरहरू र उद्योगका विशेषज्ञहरूलाई एकसाथ ल्याएर, नेपाली इन्टेरियर डिजाइनको क्षेत्रमा उल्लेखनीय स्थान हासिल गर्न सफल परियोजनाहरूलाई सम्मान गर्यो।

समारोहको सुरुमा आयोजकले अतिथिहरूलाई स्वागत गर्दै निर्णायक मण्डलको बसाईको व्यवस्था गरियो। त्यसपछि आईडीईए नेपालकी उपाध्यक्ष उषा रायमाझीले उद्घाटन मन्तव्य दिँदै उपस्थित विद्यार्थी, प्राध्यापक र सञ्चारकर्मीहरूलाई सम्बोधन गरिन्।

कार्यक्रमका प्रमुख अतिथि नारद मणि र आईडीईए नेपालका अध्यक्ष श्याम बहादुर श्रेष्ठले उद्घाटन गर्दै अवार्ड समारोहको औपचारिक सुरुवात गरे।

आईडीईए नेपालका अध्यक्ष श्रेष्ठले संगठनको उद्देश्य र भावनालाई स्पष्ट पार्दै नेपाली प्रतिभाहरूको सम्मानको महत्वबारे चर्चा गरे। उनले राष्ट्रिय रूपमा नेपाली इन्टेरियर डिजाइनरहरूको सहयोग र समर्थनको आवश्यकता औंल्याउँदै भने, “तपाईहरूको माया र समर्थनले नै यो संस्था चल्छ, र हामीले यहाँ सबैलाई सम्मान दिन चाह्यौं। नेपालमा विश्वस्तरका इन्टेरियर डिजाइनरहरू छन्, हामीले बाहिरबाट डिजाइनर आयात गर्न रोक्नुपर्छ।”

निर्णायक मण्डलका संयोजक मधुरा कार्कीले निष्पक्ष निर्णय प्रक्रिया र प्रतियोगितालाई तीन वर्गहरूमा विभाजन गरिएको जानकारी दिइन्। उनले प्रतियोगितामा सीमा नाघेर उत्कृष्टता प्राप्त गर्नुपर्ने बताउँदै भनिन्, "अवसरको ढोका तब मात्र खुल्छ जब तपाईंले त्यसलाई धकेल्नुहुन्छ, र हामीले तपाईंहरूको लागि यो अवसरको ढोका धकेलेका छौँ।”

वर्ग 'सी' अन्तर्गत विद्यार्थीहरूलाई प्रदान गरिएको 'इमर्जिङ डिजाइनर अवार्ड' मा बिनी डंगोल दोस्रो रनर-अप, यशस्वी श्रेष्ठ पहिलो रनर-अप, र अनिशा महर्जन विजेता घोषित भए।

वर्ग 'बी' अन्तर्गत 'आईडीईए इनोभेटिभ डिजाइनर अवार्ड' को श्रेणीमा आवासीय डिजाइनतर्फ बिश्वत्तम श्रेष्ठ, व्यवसायिकतर्फ रबिना श्रेष्ठ, र आतिथ्यतर्फ पुनः रबिना श्रेष्ठ विजेता भए।

वर्ग 'ए' अन्तर्गत 'आईडीईए प्रोफेशनल डिजाइनर अवार्ड' मा आवासीय श्रेणीमा रञ्जनी शाक्य बज्राचार्य, व्यवसायिक श्रेणीमा मुकेश महर्जन, र आतिथ्य श्रेणीमा पुनः रञ्जनी शाक्य बज्राचार्य विजेता घोषित भए।

मुख्य पुरस्कारहरूमा सैलीशा शाक्य 'सस्टेनेबल डिजाइनर अफ द इयर' घोषित भइन्, रबिन शिल्पकारले 'हेरिटेज डिजाइनर अफ द इयर' पुरस्कार जिते, भने बिश्वत्तम श्रेष्ठ 'डिजाइनर अफ द इयर' बने।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको मन्तव्य प्रस्तुत गरियो। नेपाली वास्तुकार समाज (सोसाइटी अफ नेपालीज आर्किटेक्ट) का अध्यक्ष ईश्वरलाल जोशीले आईडीईएले प्रेरणादायक मञ्च तयार गरेकोमा आभार व्यक्त गर्दै युवाहरूलाई अवसर प्रदान गर्न सर्टिफाइड ओभरसियर्सको प्रतिबद्धता व्यक्त गरे। स्टक्चरल कन्सल्टन्ट एन्ड इन्जिनियर्स फोरमका अध्यक्ष ठाकुर प्रसाद शर्मा विजेताहरूलाई बधाई दिंदै इन्टेरियर डिजाइन समुदायको सहभागिताको प्रशंसा गरे। कला समीक्षक मुकेश मल्लले विजेताहरूको प्रशंसा गरे भने प्रमुख अतिथि नारद मणिले परम्परागत मूल्यहरूलाई आधुनिक सौन्दर्यसँग एकीकृत गर्दै नेपालको वास्तुकला क्षेत्रलाई उचाइमा पुर्याउन आग्रह गरे।

समापन समारोहमा आईडीईए नेपालका कोषाध्यक्ष सुशिल शिवाकोटीले कार्यक्रमको सफलतामाथि प्रकाश पार्दै इन्टेरियर डिजाइन क्षेत्रका उदाउँदा प्रतिभाहरूलाई समर्थनको महत्वबारे धारणा राखिन्। अन्त्यमा, आईडीईए अध्यक्षले धन्यवाद ज्ञापन गर्दै प्रायोजकहरूलाई स्मृतिचिन्ह वितरण गर्दै संगठनको आगामी योजनाहरूको खाका प्रस्तुत गरे।

Back to top