×

वीरगञ्ज । मधेश केन्द्रित दलहरूमा पछिल्लो समय अध्यक्षहरूको विवादका कारण पार्टीहरू संकटमा फसिरहेका छन्। जनमत पार्टीदेखि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसम्मका शीर्ष नेताहरू आपसी विवादमा फस्दा संगठनमा अस्थिरता देखिएको छ।

जनमत पार्टीको संकट

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नी श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनी गम्भीर विवादमा तानिएका छन्। राउतले श्रीमतीको माइती प्रेमलाई मुख्य कारण देखाउँदै सम्बन्ध विच्छेद गर्न चाहेका हुन्, तर सोनीले आफूले सम्बन्ध विच्छेद गर्न नचाहेको बताएकी छन्। उनले पति राउतले निरन्तर यातना दिएको र कानुनी उपचारमा समेत असहयोग गरेको आरोप लगाएकी छन्।

सोनीका अनुसार राउतले पटक-पटक कुटपिट र यातना दिएका छन् र सम्बन्ध विच्छेदका लागि दबाब दिँदै आएका छन्। यो पारिवारिक विवादले जनमत पार्टीको छवि प्रभावित भएको छ। उनीहरूको तीन सन्तान छन्, र राउतले तीन सन्तानलाई आफूसँग राख्ने प्रस्ताव गर्दै सम्बन्ध विच्छेद पत्रमा पत्नीलाई सम्पत्तिको पाँच भागमध्ये एक भाग दिने उल्लेख गरेका छन्।

जसपा नेपालमा आन्तरिक कलह

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक संरचनामा मनपर्दी गरेको आरोप लागेको छ। पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले निर्वाचन आयोगमा उजुरी दिएपछि जसपामा संकट गहिरिएको हो। अशोकले अध्यक्ष यादवमाथि पदाधिकारी नियुक्तिमा एकल निर्णय लिएको आरोप लगाएका छन्।

यादवको हैकमवादी प्रवृत्तिको विरोधमा पार्टीका कतिपय नेताहरूले पार्टी परित्याग गरेका छन् भने अन्य केही नेताहरूले यादवलाई "साँढेसँग तुलना गर्दै" आलोचना गरेका छन्। पार्टीले थालेको संगठन सुदृढीकरण अभियान औपचारिकतामा सीमित रहेको र पार्टीभित्र फेरि पनि विभाजनको जोखिम रहेको नेताहरू बताउँछन्।

लोसपा नेपालमा विवाद

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा पनि अध्यक्ष महन्थ ठाकुर र पार्टी नेताहरूबीचको विवाद चुलिएको छ। ठाकुरले मधेश प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनललाई कारबाही थालेर पार्टीभित्र असन्तुष्टि बढाएका छन्। सोनलले संघीय सरकारका मन्त्री शरतसिंह भण्डारीको समर्थन पाएका छन्, जसका कारण ठाकुरको निर्णयले पार्टीलाई थप क्षति पुर्‍याउन सक्ने विश्लेषण गरिँदैछ।

अध्यक्ष ठाकुरले आफ्नी छोरीलाई महोत्तरीबाट चुनाव लडाउने तयारी गरिरहेको चर्चा छ, जसले गर्दा पार्टीभित्रको आन्तरिक कलह बढ्न पुगेको हो। लोसपाले महाधिवेशन गर्ने घोषणा गरे पनि यसको तयारी भने अझैसम्म सुरु भएको छैन, जसले पार्टीको नेतृत्वमा अन्योलता ल्याएको छ।

मधेश केन्द्रित दलहरूको नेतृत्वमा देखिएका यी आन्तरिक विवादले पार्टीहरूलाई कमजोर बनाउँदै लगेको छ, जसले मधेशी जनतामा निराशा पैदा गर्ने खतरा बढ्दै गएको छ।

Back to top