×

वीरगञ्ज । वीरगञ्जमा दरशी अटोमोबाइल्स प्रा.लि.ले नेपालकै पहिलो विद्युतीय अफ–रोडर एसयूभी ओमोडा ई ५ डीएलएक्स र जेको जे ६ को भव्य रुपमा लञ्च गरेको छ । वीरगञ्जका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक वितरक दरशी अटोमोबाइल्सले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरू सार्वजनिक गर्दै स्थानीय बजारमा नवीनतम प्रविधिको महत्वपूर्ण विस्तार गरेको छ ।

यस कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारती, ग्रीनसिटी सामुदायिक सेवा केन्द आदर्शनगगरका अध्यक्ष जयप्रकाश खेतान, एसपीजी अटोमोबाइल्सका वरिष्ठ प्रबन्धक अशिष दाहाल, डिलर इन्चार्ज सबिन पाण्डे, दरशी अटोमोबाइल्सका अध्यक्ष मोहित कुमार अग्रवाल, र प्रबन्ध निर्देशकहरू ऋतिक चौधरी र हिमांशु चौधरी लगायतले सयुँक्त रुपमा गाडीहरूको औपचारिक अनावरण गरेका हुन् ।

गाडी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जकै युवा उद्यमीहरुले आकर्षक र नयाँ मोडलको गाडी लञ्च गरेकोमा खुशी व्यक्त गरे । पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दै गएको अवस्थामा आफ्नै ठाउँमा बसेर उद्यम गर्ने र अरुलाई पनि रोजगारीको वातावरण सृजना गर्ने कार्य अनुकरणीय रहेको महानगर प्रमुख सिंहको भनाई थियो । 

मेयर सिंहले गाडी अनावरण कार्यक्रममा वीरगञ्जका युवा उद्यमीहरूले आकर्षक र अत्याधुनिक विद्युतीय गाडीहरू लञ्च गरेकोमा खुशी व्यक्त गर्दै भने, “स्थानीय युवाहरूले उद्यमशीलता क्षेत्रमा गरेको यो प्रयास सराहनीय छ। विदेश जाने प्रचलन बढ्दै गएको वर्तमान अवस्थामा आफ्नै ठाउँमा उद्यम सुरु गर्नु र अरूलाई पनि रोजगारीका अवसरहरू सिर्जना गर्नु निकै अनुकरणीय कार्य हो। यसले वीरगञ्जलाई विद्युतीय सवारी साधनको क्षेत्रमा महत्वपूर्ण गन्तव्य बनाउँदै लैजानेछ, जसले आर्थिक विकाससँगै वातावरणीय सुधारमा पनि योगदान पुर्‍याउनेछ।”

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि गाडी अनावरण कार्यक्रममा आफ्नो धारणा राख्दै वीरगञ्जका युवाहरूले विद्युतीय सवारी साधनको बजारमा गरेका प्रयासहरूको प्रशंसा गरे। उनले भने, “यसले न केवल स्थानीय युवाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्नेछ, तर वातावरणमैत्री विद्युतीय गाडीहरू प्रवर्द्धन गर्दै दीगो विकासमा योगदान दिनेछ। स्थानीय क्षेत्रमा यस्ता नवप्रवर्तनकारी कदमहरू स्वागतयोग्य छन्, र यसले उद्यमशीलतामा समेत वृद्धि ल्याउनेछ।”

दरशी अटोमोबाइल्सका अध्यक्ष मोहित कुमार अग्रवालले ओमोडा ई ५ र जेको जे ६ ले नेपाली बजारमा उत्साही प्रतिक्रिया पाएको बताउँदै भने, “हामी हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि, सुलभ वित्तीय सेवा, र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौं । वीरगञ्जमा चाँडै नै नयाँ शोरुम खोल्ने योजना पनि बनाएका छौं, जहाँ ग्राहकहरूले आधुनिक गाडीहरूको अनुभव लिन सक्नेछन् ।”

एसपीजी अटोमोबाइल्सका वरिष्ठ प्रबन्धक अशिष दाहालले भने, “हामी नेपालभर चार्जिङ स्टेसन र सेवा केन्द्रहरूको विस्तार गर्दै ग्राहकलाई अत्याधुनिक सेवा दिने लक्ष्यमा छौं । वीरगञ्जसहित नेपालभर १५ भन्दा बढी सेवा केन्द्रहरूको नेटवर्क छ, र आगामी केही महिनामा ५० भन्दा बढी स्थानमा चार्जिङ स्टेसनहरू विस्तार गर्ने योजनामा रहेको छ ।”

ओमोडा ई ५ र जेको जे ६ को विशेषता
ओमोडा ई ५ डीएलएक्सको प्रारम्भिक मूल्य रु. ५५.९९ लाख तोकिएको छ, जसले ४३० किमी रेन्ज, १८० मिमी ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाट मोटर पावर प्रदान गर्दछ । यसैगरी, जेको जे ६ को प्रारम्भिक मूल्य रु. ६९.९९ लाख रहेको छ । यसले ४०० किमी रेन्ज, १३५ किलोवाट मोटर पावर र १८४ पीएस हर्सपावर उपलब्ध गराउँछ । जेको जे ६ मा लिथियम आइरन फस्फेट ब्याट्री, छवटा एयरब्याग, प्यानोरामिक सनरुफ, १५.६ इन्चको केन्द्रीय कन्ट्रोल प्रणाली, र प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम जस्ता आधुनिक सुविधाहरू छन् ।

दरशी अटोमोबाइल्सले गत १४ वर्षदेखि वीरगञ्जका ग्राहकहरूलाई उत्कृष्ट सवारी साधन, सेवा, र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारी साधनहरू र अफ–रोड अनुभवहरू मार्फत स्थानीय बजारमा नवीनतम प्रविधि विस्तार गर्दै आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याउँदै आएको छ ।

 

Back to top