×

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नं. ११, मुर्ली चौकमा ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली, पर्साको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सचेतना कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा पैदल यात्री, साइकल चालक लगायतलाई सडक सुरक्षा सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा करिब ४० देखि ५० जनालाई जेब्रा क्रसिङ गर्दा दायाँबायाँ हेर्ने, ट्राफिक संकेत पालन गर्ने, ट्राफिक बत्तीको प्रयोग, र हेल्मेटको डोरी कस्सिएर प्रयोग गर्ने जस्ता ट्राफिक नियमबारे सचेत गराइएको केन्द्रका अध्यक्ष राम सर्राफले जानकारी दिए । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली पर्साका सचिव कुल नारायण प्रधान (दिलिप) तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी सहायक हवल्दार लालु माया महतो, र प्रहरी जवान राजु प्रसाद चौरसियाको उपस्थिति रहेको थियो ।
 

Back to top