×

वीरगञ्ज । बाराको शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयभित्र राजनीतिक गतिविधि सञ्चालन गर्नेलाई कडा कारबाहीको चेतावनी दिएको छ ।

इकाई प्रमुख हेमराज खतिवडाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विद्यालयहरूमा राजनीति प्रवेश गराउने शिक्षक वा प्रधानाध्यापकविरुद्ध कारबाही हुने स्पष्ट पारेका छन् ।

यस चेतावनीको कारण हालैको घटनासँग जोडिएको छ, जहाँ प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीका नेताहरूले कलैया उपमहानगरपालिकाका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूलाई कक्षाकोठामै राजनीतिक नाराबाजी गर्न प्रोत्साहित गरेका थिए । ‘नो टिचर, नो टिचिङ’ भनिएको नारा सहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इकाईले कारबाहीको सङ्केत गरेको हो ।

हाल इकाईले दोषी शिक्षक वा दलहरूको नाम सार्वजनिक नगरे पनि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने सङ्केत गरेको छ । सूचना जिल्ला प्रशासन कार्यालय बारालाई जानकारीको लागि पठाइएको छ ।

“विद्यालय शान्ति क्षेत्र कायम राख्न निर्देशिका २०६८ अनुसार विद्यालयहरूमा कुनै पनि राजनीतिक गतिविधि गर्न/गराउन निषेध गरिएको छ। बालबालिकाको शैक्षिक गतिविधिमा असर पर्ने हरेक प्रयासलाई रोक्न हामी प्रतिबद्ध छौँ,” इकाई प्रमुख खतिवडाले भने ।

विद्यालयहरूमा शिक्षण वातावरण सुरक्षित राख्न तथा राजनीतिक हस्तक्षेपको अन्त्य गर्न यो कदम महत्त्वपूर्ण मानिएको छ ।

Back to top