×

चिसो पानीले नुहाउँदा शरीरलाई ताजा मात्र बनाउँदैन, मानसिक र शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यद्यपि, चिसो पानीले नुहाउनुका फाइदा र बेफाइदा दुवै छन् ।

धेरै मानिसहरूको भनाइ अनुसार चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनमा चिसो पानीको के असर छ र यो कति हदसम्म सत्य हो ? यसबारे जानौँ ।

मेटाबोलिज्म बलियो

चिसो पानीले नुहाउँदा मेटाबोलिज्मको दर बढ्छ, जसले शरीरमा ऊर्जाको खपत बढाउँछ र तौल घटाउन मद्दत गर्छ । चिसो पानीले नुहाउँदा शरीरले आफ्नो सामान्य तापमान कायम राख्न बढी मेहनत गर्नुपर्छ, जसले क्यालोरी बर्न गर्छ ।

मानसिक स्वास्थ्यमा सुधार

चिसो पानीले नुहाउँदा मानसिक ताजगी आउँछ र तनाव र डिप्रेसन कम गर्न मद्दत गर्छ । चिसो पानीको झट्काले शरीरमा एन्डोर्फिन नामक हर्मोन रिलिज हुन्छ, जसले मुडलाई राम्रो बनाउँछ ।

छाला र कपालको लागि फाइदाजनक

चिसो पानीले नुहाउँदा छालामा चिस्यान कायम रहन्छ र छिद्रहरू बन्द हुन्छन्, जसले छालालाई कोमल र मुलायम राख्छ । यो कपालको लागि पनि राम्रो हुन्छ, किनभने यसले कपालको जरालाई बलियो बनाउँछ ।

रक्त सञ्चारमा सुधार

चिसो पानीले नुहाउँदा रक्त सञ्चारमा सुधार हुन्छ, जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले रक्तचापलाई पनि नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।

बेफाइदाहरू

फाइदाका साथै चिसो पानीले नुहाउनुका केही बेफाइदाहरू पनि हुन सक्छ । जस्तै- धेरै चिसो पानीले नुहाउँदा हाइपोथर्मिया (शरीरको तापमान सामान्य भन्दा कम हुनु) को जोखिम हुन सक्छ ।

केही व्यक्तिमा संवेदनशीलता बढ्नसक्छ, जसले रुघा, खोकी वा चिसो लाग्ने लक्षणहरू देखा पर्न सक्छ ।

के चिसो पानीले रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउँछ ?

विज्ञका अनुसार चिसो पानीले नुहाउँदा शरीरमा रक्त सञ्चार राम्रो हुन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले तपाईंको सेतो रक्त कोशिकाहरूको सङ्ख्या बढाउन सक्छ, जसले शरीरलाई रोग र सङ्क्रमणसँग लड्न मद्दत गर्छ ।

यद्यपि, यो रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउने एकमात्र तरिका होइन । रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन खानपान, नियमित व्यायाम र पर्याप्त निद्रा पनि आवश्यक छ ।

Back to top