×

फाईल फोटो

सर्लाही । विष्णु गाउँपालिका वडा नम्बर ३, मधुवन बजार र विश्वनाथपुरमा आयोजित महाबिरी झण्डा मेला यस वर्ष शान्तिपूर्वक सम्पन्न भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षाकर्मी टोलीको सक्रियताले मेलामा जुवा तासजस्ता अवैध क्रियाकलापलाई नियन्त्रण गर्न सफल भएपछि मेला शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा लाग्ने यो मेलामा हरेक वर्ष जुवा तास र अन्य अवाञ्छित गतिविधिहरू हुने गरेका थिए। तर, यस पटक प्रहरीले कडा निगरानी गर्दै मेलामा भइरहेको जुवा तासलाई जफत गरेको छ। यससँगै मेलामा अवाञ्छित क्रियाकलाप नियन्त्रणमा आएपछि स्थानीयहरू बिना डरभय मेलामा सहभागी हुन पाएका छन्।

विगतका वर्षहरूमा महाबिरी झण्डा मेलामा झगडा र असामाजिक क्रियाकलापका कारण दर्जनौं मानिसहरू घाइते हुने गरेका थिए। सीमापारिबाट आउने व्यक्तिहरूले रक्सी सेवन गरेर जुवा तास खेल्ने तथा मेलामा अशान्ति मच्चाउने गरेको घटनाहरूलाई यस पटक प्रहरीले पूर्ण रूपमा नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गडहिया डुमरिया र सशस्त्र प्रहरी बल गुल्म सिमरा तथा बीओपी बाराबाट ठूला संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका थिए। उनीहरूले सुरक्षा व्यवस्था मजबुत बनाएकाले स्थानीयहरूले सुरक्षाकर्मीहरूको प्रयासको प्रशंसा गरेका छन्।

सूत्रहरूका अनुसार मेला व्यवस्थापन समितिले जुवा तास खेलाउनका लागि डेढ लाखमा अनुमति दिएको भनाइ रहेको छ। यद्यपि, सुरक्षाकर्मीहरूको सक्रियताले यो योजनालाई विफल बनाएको हो।

महाबिरी झण्डा मेलामा यस पटक झगडा र अवाञ्छित गतिविधि हुन नदिइएकोमा स्थानीयबासीहरू अत्यन्तै खुसी देखिएका छन्।

Back to top