×

वीरगञ्ज । मधेस प्रदेश क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारण सभा वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि तथा मधेस सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले मधेस सरकारले क्रिकेटको विकासमा सधैँ समर्थन गर्ने र मधेस प्रिमियर लिग लगायतका अन्य क्रिकेट गतिविधिहरूमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “क्रिकेटको माध्यमबाट युवा खेलाडीहरूलाई सशक्त बनाउन र मधेसलाई राष्ट्रिय स्तरमा प्रतिष्ठित क्रिकेट गन्तव्य बनाउने हाम्रो प्रयास जारी छ ।”

त्यस्तै, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले इलाइट कपलाई भव्यताका साथ सम्पन्न गर्न महानगरले सम्पूर्ण सहयोग गर्ने बताए । उनले भने, “वीरगञ्ज महानगर क्रिकेट खेलको विकासमा सधैँ तत्पर छ, र हामीले युवा खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने वातावरण निर्माण गरिरहेका छौँ ।”

पर्सा क्रिकेट सङ्घका अध्यक्ष ई. मनिष सिंहले मधेस प्रदेशका ८ जिल्लामा खेलाडीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको र नयाँ खेलाडीहरूलाई अवसर पाउन कठिन भइरहेको बताए । उनले थपे, “हाम्रो प्रदेशका उत्कृष्ट खेलाडीहरूले पनि राष्ट्रिय स्तरमा आफ्नो स्थान पाउन चुनौती झेलिरहेका छन् । यसबारे नेपाल क्रिकेट सङ्घले तुरुन्तै आवश्यक कदम चाल्नुपर्छ ।”

सभामा मधेस प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, पुरुष र महिला टोलीको प्रदर्शनबारे जानकारी गराए । पुरुष टोलीले दिवसीय क्रिकेटमा ९ खेल खेल्दै ६ जित र ३ हारको नतिजा हात पारेको छ भने टी-२० प्रतियोगितामा २६ खेलमध्ये १७ जित र ९ खेलमा हार व्यहोरेको छ । महिला टोलीले ८ खेलमध्ये ३ जित र ५ हार व्यहोरेको प्रतिवेदनमा उल्लेख छ ।

सचिव श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मधेस प्रिमियर लिगको आयोजना, ८ जिल्लाबिच रातो बलको प्रतियोगिता तथा उत्कृष्ट खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने योजना पनि प्रस्तुत गरे । यस वर्षदेखि खेलाडीहरूलाई करार सम्झौतामा अनुबन्धन गर्ने र ५ जना खेलाडीलाई जीविकोपार्जनका लागि तलबको व्यवस्था गर्ने प्रस्ताव पनि अगाडि सारिएको छ ।

कार्यक्रममा जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय, बाराका अध्यक्ष प्रभात चौरसिया, नेपाल क्रिकेट सङ्घका पूर्व सदस्य दाउद अन्सारी लगायतले पनि मन्तव्य व्यक्त गरे । कार्यक्रमको अध्यक्षता मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल कुमार महासेठले गरेका थिए भने स्वागत मन्तव्य सङ्घका सदस्य सत्रुधन साहले दिएका थिए ।

Back to top