×

कोलकाता । भारतको कोलकातास्थित सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्या आरोपमा मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई सीबीआईले पक्राउ गरेको छ ।

भारतीय मिडियाका अनुसार सीबीआईले उनीहरूलाई प्रमाणसँग छेडछाड, बेपत्ता पार्ने प्रयास र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा शनिवार राति नियन्त्रणमा लिएको हो । उनीहरूलाई आज अदालतमा पेश गरिने बताइएको छ ।

सन्दीप घोष यसअघि नै आर्थिक घोटालाको मुद्दामा सीबीआईको हिरासतमा रहेका थिए, र हाल २३ सेप्टेम्बरसम्म प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा छन् । सीबीआईले नयाँ आरोपमा पनि उनको हिरासत माग गर्ने सम्भावना रहेको छ ।

पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीले यो मुद्दालाई लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो । यसअघि अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिए पनि शवको पोस्टमार्टम र दाहसंस्कार पछि मात्रै एफआईआर दर्ता भएको थियो ।

यस घटनामा संलग्न सञ्जय राई नामक नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परिसकेका छन् र उनी सीबीआईको हिरासतमा छन् । हालसम्म तीन अभियुक्त पक्राउ परिसकेका छन् । ताला पुलिस चौकीका इन्चार्ज अभिजीत मण्डल बिरामीको बहानामा सेप्टेम्बर ५ मा निजी अस्पतालमा भर्ना भएका थिए, तर शनिवार उनी सीबीआईको कार्यालयमा सोधपुछका लागि बोलाइएका थिए । बयानमा असमानता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ ।

यस गिरफ्तारीप्रति आन्दोलनरत जुनियर डाक्टरहरूले सन्तोष व्यक्त गरेका छन् र यसलाई न्यायको दिशामा ठोस कदम भनेका छन् ।

Back to top