×

वीरगञ्ज। वीरगञ्जको जैन भवनमा तेरापन्थ युवक परिषदद्वारा आयोजित ११ दिने रक्तदान कार्यक्रमको पाँचौं दिन शनिवार सम्पन्न भएको छ। यस अवसरमा १६ महिलासहित २११ जनाले रक्तदान गरेका थिए। कार्यक्रमको उद्देश्य १५०० पिन्ट रगत संकलन गर्ने रहेको छ, जस अन्तर्गत विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना भइरहेको छ।

रक्तदान गर्ने प्रमुख व्यक्तिहरुमा रिशिका पोखरेल, अन्नु कर्ण, निशा कार्की, संगीता शर्मा, कुसुम जैन, रंजित पोखरेल, सुभाष भट्टराई, सुशील कुमार सिंह, प्रदीप साह, र अन्य थुप्रै समाजसेवी तथा स्थानिय नागरिक सामेल थिए।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जलाई दानदाताहरुको शहर भन्दै, रक्तदान जस्तो महत्त्वपूर्ण सामाजिक कार्यमा तेरापन्थ युवक परिषदको भूमिका अत्यन्तै सराहनीय रहेको बताए। उनले यो अभियानले ४ दिनमै ५०० पिन्ट रगत संकलन गरिसकेकोले १५०० पिन्ट रगतको लक्ष्य नजिक रहेको जनाए।

तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथिका रूपमा परिषदका इन्टरनेशनल सचिव अमित नाहटा, नेपाल प्रभारी जितेन्द्र नौलखा, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद, रेडक्रस पर्साका सभापति विरेन्द्र राज कडेल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रमको सहजीकरण परिषदका सचिव सुमित सेठियाले गरेका थिए भने रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डे, प्राविधिक जितेन्द्र कुश्वाहा, र रेडक्रसका स्वयंसेवकहरुले रक्तदानमा सहयोग गरेका थिए।

यो रक्तदान कार्यक्रम असोज ४ गतेसम्म विभिन्न स्थानमा निरन्तर आयोजना हुनेछ, जसबाट रक्त सञ्चार केन्द्रमा रहेको रगतको अभावलाई पूरा गर्ने उद्देश्य रहेको छ।

Back to top