×

वीरगञ्ज । ज्ञानदा एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको छ। यस अवसरमा नयाँ भर्ना भएका विद्यार्थीलाई लक्ष्यप्राप्तिको मार्गदर्शन गर्दै नवऊर्जा प्रदान गर्ने उद्देश्य रहेको थियो।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का नयाँ विद्यार्थीहरूको सम्मानमा विशेष कार्यक्रम प्रस्तुत गरे। यस कार्यक्रममा प्रमुख अतिथि नेपाल मेडिसिटि हस्पिटलका उपाध्यक्ष विजय रिमाल हुनुहुन्थ्यो। सम्मानित अतिथिहरूमा गौतम मा.वि.का निर्देशक सोनाम लामा, जीवनज्योती मा.वि.का निर्देशक शिव गुप्ता, नेशनल मेडिकल कलेजका सहायक प्रधानाध्यापक डा. रवि शंकर गुप्ता, श्री मुखदेव सुसिला टेक्निकल स्कूलका प्रधानाध्यापक लक्ष्मीकान्त साह, र सामाजिक अभियन्ता प्रकाश थारूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकारी राजेन्द्र प्रसाद कोइरालाले गर्नुभएको थियो। उहाँले स्वागत मन्तव्यमा विद्यार्थीहरूको लक्ष्यप्राप्तिमा ज्ञानदा एकेडेमीले दिने सहयोग र पथप्रदर्शकको भूमिका उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यार्थी जीवनमा सफलता प्राप्तिका लागि विभिन्न सुझावहरू दिनुभयो।

कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्ज्वलन गरेर गरिएको थियो। प्रथम चरणमा अतिथिहरूलाई खादा र टिका लगाएर आसन ग्रहण गराइएको थियो। प्रमुख अतिथि विजय रिमालले आफ्नो मन्तव्यमा वीरगञ्जका विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि ज्ञानदा एकेडेमीले सेतुको रूपमा कार्य गरेको कुरा व्यक्त गर्नुभयो।

कार्यक्रममा ज्ञानदा एकेडेमीका सहायक प्राधानाध्यापिका जागृति मिश्रा, शैक्षिक प्रमुख सन्ध्या वशिष्ट, प्रोग्राम लिडर वशिम हुसैन, व्यवस्थापक प्रमुख कुश, +१२ इन्चार्ज अफरोज अन्सारी, +१२ व्यवस्थापन इन्चार्ज राहुल केवट, अनुशासन प्रमुख सुजित गिरी, अतिरिक्त क्रियाकलाप प्रमुख अफरोज हवारी, परीक्षा प्रमुख गौतम मान उदास, लेखा प्रमुख रंजित सिंह, र आईटी प्रमुख मोहसिन अन्सारीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Back to top