×

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित स्काइलाइन मलमा सुविधा सम्पन्न चारतारे सरोबर पोर्टिको होटल सञ्चालनको अन्तिम तयारीमा छ । भारतका ७५ वटा स्थानतमा एक सय २० भन्दा बढी सुविधासम्पन्न होटलहरू सञ्चालन गर्दै आएको सरोबर होटेल्सले नेपालको वीरगञ्जमा पहिलो होटल सञ्चालनमा ल्याएको हो । यसपछि नेपालका विभिन्न शहरमा ५ भन्दा बढी होटलहरु खोल्ने लक्ष्य रहेको छ ।

होटलमा ६० वटा पूर्ण रूपमा वातानुकूलित कोठाहरू रहनेछन्, जहाँ पाहुनाहरूले लक्जरी अनुभव गर्न सक्नेछन् । यसका साथै, २४ घण्टा खाना सेवा, स्विमिङ पूल, स्पा, जिम, र ३ तलामा रहेको भव्य बैंक्वेट हलले व्यापारिक र पारिवारिक कार्यक्रमहरूको आयोजना गर्न सहयोग गर्नेछ ।

होटलको ७, ८ र ९ तलामा कोठाहरू र २ तलामा स्विमिङ पूल, स्पा र जिम रहेको छ, जसले पाहुनाहरूलाई विश्राम र मनोरञ्जनको भरपूर अनुभव दिनेछ । नेपालको काठमाण्डौ र भारतको पटना पछि सबैभन्दा सुविधासम्पन्न गन्तव्यको रुपमा लगानीकर्ताले सरोबार पोर्टीकोलाई दाबी गरेका छन् । 

यो होटलले आतिथ्य क्षेत्रमा योगदान पुर्याउनुका साथै स्काइलाइन मलमा पहिले नै सञ्चालनमा रहेका सुविधा सम्पन्न क्युएफएक्स सिनेमा, विश्वप्रसिद्ध केएफसी, पिजा हट र क्रिम बेलले पनि पर्यटक र स्थानीय बासिन्दाहरूलाई सेवा दिइरहेका छन् । यी विश्वस्तरीय ब्राण्डहरूको उपस्थिति र सुविधाहरूले वीरगञ्जलाई एक आकर्षक गन्तव्य बनाइरहेको छ ।आइवारदेखि नै होटलमा कोठा बुकिङ खुला गरिने तयारी छ । 

सरोबर पोर्टिकोको सञ्चालनले वीरगञ्जको होटल व्यवसाय र पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । अत्याधुनिक सेवा र सुविधाका कारण, यो होटलले व्यवसायिक आगन्तुकहरूलाई आकर्षित गर्नुका साथै पारिवारिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको पनि पहिलो रोजाइ बन्ने सम्भावना छ ।

होटलको आगमनसँगै वीरगञ्जले पर्यटकहरूलाई आकर्षित गर्न सक्ने क्षमता विस्तार गर्नेछ, जसले समग्रमा स्थानीय अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

 

Back to top