×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका - ४ का पूर्ववडाध्यक्ष मोहन थापाको शुक्रवार बिहान काठमाडौँको शहीद गङ्गालाल हृदयकेन्द्रमा उपचारको क्रममा निधन भएको छ। तीन सातादेखि उपचाररत ६७ वर्षीय थापाको मृत्यु निमोनियाका कारण भएको अस्पतालका चिकित्सकहरूले जानकारी दिएका छन्।

मुटुरोगबाट पीडित थापालाई तीन साता अघि गङ्गालाल हृदयकेन्द्रमा भर्ना गरिएको थियो। पेशमेकर जडान गरिएको भए पनि उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। चिकित्सकहरूका अनुसार मुटुसम्बन्धी समस्या रहेको अनुमान गरिएको भए पनि उनको मृत्यु निमोनियाका कारण भएको हो।

स्व. थापा वीरगञ्जमा पहिलो पटक भाडामा चारचक्के सवारीसाधन सञ्चालन गर्ने व्यवसायीको रूपमा परिचित थिए। उनी वीरगञ्जको व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय थिए। थापाको परिवारद्वारा सञ्चालित हलो सर पसल हालसम्म पनि सञ्चालनमा रहेको छ।

थापाका परिवारजन, मित्रवर्ग र स्थानीयले उनको निधनप्रति शोक व्यक्त गरेका छन्।

Back to top