×

वीरगञ्ज । पर्सा जिल्लाबाट पहिलो पटक दुई जना कबड्डी खेलका राष्ट्रिय रेफ्री (निर्णायक) बन्न सफल भएका छन्। राष्ट्रिय स्तरको एड्भान्स रेफ्री तथा प्रशिक्षक तालिम लिएसँगै आकाश पटेल र रनु दास तत्माले कबड्डीको राष्ट्रिय रेफ्रीको लाइसेन्स प्राप्त गरेका हुन्।

काठमाडौंमा भदौ २१ देखि २७ गतेसम्म सञ्चालित उक्त तालिममा पटेल र तत्मासँगै देशभरका ७० जनाले सहभागिता जनाएका थिए। तालिममा ४५ जना निर्णायक तथा ४० जना प्रशिक्षकले प्रशिक्षण लिएका थिए।

कबड्डी संघका महासचिव अरविन्द कुमार झाले तालिमको जानकारी दिँदै, सहभागीहरूलाई प्रो–कबड्डीका निर्णायक अजित कुमार, प्रशिक्षक श्रीनिवासन रेड्डी, ई प्रसाद राव, पार्वती राई, विषण्णु भट्ट लगायतको अनुभवी टोलीले प्रशिक्षण दिएको बताए।

यो उपलब्धि पर्सा जिल्लाका खेलप्रेमीहरूको लागि गर्वको विषय बनेको छ। कबड्डी खेलको विकास र विस्तारमा यो कदमले थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Back to top