×

चीन र युरोपेली सङ्घ (इयु) बीच  विद्युतीय कारको अतिरिक्त शुल्कसम्बन्धी वार्ता हुने भएको छ । विद्युतीय कारको शुल्कबारे छलफलका लागि चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओ इयुका व्यापार प्रमुखसँग वार्ताका लागि ब्रसेल्स जानुहुने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

इयुको व्यापार नीतिको नेतृत्व गर्ने युरोपेली आयोगले गएको महिना चीनबाट आयातित इभीमा ३६ प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो । आउने अक्टोबरको अन्त्यअघि इयुका २७ देशले मतदान गरेपछि अतिरिक्त शुल्क सुनिश्चित हुनेछ र यो पाँच वर्षसम्म लागू हुनेछ ।

यही व्यवस्था लागु हुनुभन्दा अघि बेइजिङले चिनियाँ विद्युतीय कारमा शुल्क रोक्न अन्तिम प्रयास गरिरहेको जनाएको छ । वाणिज्यमन्त्री वाङले यही सेप्टेम्बर १९ मा इयुका व्यापार आयुक्त वाल्डिस डोम्ब्रोभ्स्कीससँग यस विषयमा छलफल गर्नुहुने आयोगले जनाएको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले पनि इयुबाट अतिरिक्त शुल्कमा ‘पुनरविचार’ गर्न आग्रह गर्नुभएको छ । विश्वको सबैभन्दा ठूलो कार उत्पादकहरू रहेका जर्मनीले पनि अतिरिक्त शुल्कको विरोधमा आवाज उठाएको छ र सान्चेजको हस्तक्षेपलाई स्वागत गरेको छ ।चीनमा कार निर्माताहरूले राज्य अनुदानबाट गलत तरिकाले फाइदा लिएको भन्दै इयुले गएको जुलाईमा अतिरिक्त शुल्क लगाउने निर्णय गरेको थियो ।

Back to top