×

सन्नी देओलको आगामी चलचित्र ‘बोर्डर २’ रिलिज हुनुअघि नै विवादमा परेको छ । यो फिल्म सन् १९९७ मा रिलिज भएको ‘बोर्डर’ को सिक्वेल हो ।

अहिले उक्त चलचित्रसँग आबद्ध चलचित्र फाइनान्सर तथा वितरक भरत शाहले ‘बोर्डर २’का निर्माताविरुद्ध सार्वजनिक सूचना जारी गरेका छन् । फिल्मको पहिलो भागलाई लिएर अदालतमा मुद्दा चलिरहेको छ ।

यस सूचनामार्फत वकिल अजय खतलावालाले लिटिल एण्ड कम्पनीका साझेदार भरत शाह र बीना भरत शाह फिल्म ‘बोर्डर’को वर्ल्ड राइट्सको नियन्त्रक रहेको बताएका छन् । उनीहरूले चलचित्रका निर्देशक तथा निर्माता जेपी दत्तसँग यो चलचित्रलाई आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए तर दुवै पक्षबिच मतभेद थियो । 

तर, यसअघि फिल्मले जति कमाइ गर्छ त्यो आधा बाँड्ने निर्णय भएको थियो । यति मात्र होइन, जेपी दत्तले फिल्ममा खर्च भएको रकमको जानकारी पनि भरत शाहलाई दिनुपर्ने थियो ।

उक्त नोटिसमा जेपी दत्तले भरत शाह र बिना भरत शाहलाई कहिले पनि कुनै जानकारी नदिएको र फिल्मको आर्थिक अवस्था र नाफाबारे पनि जानकारी नगरेको उल्लेख गरिएको छ ।

भरत शाह र बीना भरत शाहले जेपी दत्तविरुद्ध भारतीय चलचित्र तथा टिभी निर्माता परिषद्मा उजुरी दिएका छन् । यसअघि सन् २०१४ मा उनीहरू बम्बे हाई कोर्टमा पनि पुगेका थिए । यो मुद्दा अहिले सिभिल कोर्टमा सरेको छ ।

सन् १९९७ मा रिलिज भएको फिल्म ‘बोर्डर २’ को सिक्वेल सन्नी देओल र जेपी दत्तले हालै घोषणा गरेका थिए । यस फिल्ममा सन्नीसँग पहिले आयुष्मान खुराना देखिने भएका थिए तर अहिले उनको ठाउँमा वरुण धवनले लिएका छन् ।

फिल्ममा सन्नी र वरुण बाहेक दिलजीत दोसांझ पनि देखिनेछन्। यो चलचित्रको छायाङ्कन छिट्टै सुरु गर्ने तयारीमा निर्माता जुटेका छन् । यो २३ जनवरी २०२६ मा थिएटरहरूमा रिलिज हुनेछ। चलचित्र गुलशन कुमार, टी–सिरिज र जेपी दत्तले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

Back to top