×

वीरगञ्ज । एच आइ भि संक्रमितलाई दिनु पर्ने सुविधा वृद्धि गर्न र वीरगञ्जको नारायणी अस्पतालमा रहेको एआरटी सेन्टरको सेवालाई अझै प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल सरकारसँग समन्वय गरी वीरगञ्जको नारायणी अस्पतालको एआरटी सेन्टरबाट एचआईभी तथा यौनरोगको क्षेत्रमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एड्स हेल्थकेयर फाउण्डेशन (ए.एच.एफ) नेपालद्वारा जिल्ला समन्वय समिति पर्साको सभा कक्षमा आयोजित वीरगञ्ज महानगर स्तरिय परामर्श समिति (एलपैक) को बैठकमा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । 

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा भएको बैठकमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. एनामुल हक, जनस्वास्थ्य कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा नारायणी अस्पालका मेसु डा. एनामुल हकले सबै पालिका र विभिन्न संघ संस्थाको सहयोगबाट नारायणी अस्पतालको मातहतमा हुने गरी स्थानिय तहमा बास्केट फण्ड बनाई एच आइ भि संक्रमितहरुलाई सहयोग गर्नु पर्ने आवश्यक्ता औँल्याए । साथै सरकारी अस्पालमै मात्र भर नपरी निजी अस्पतालले पनि विशेष छुट र सहुलियत दरमा एच आइ भि परीक्षण लगायतका सेवा दिएमा संक्रमितहरुलाई बाहिर जानुपर्ने अवस्था नआउने र सस्तो तथा सर्वसुलम दरमा सेवाग्राहीले सेवा पाउने उनको भनाई छ । 

त्यसै गरी वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले महानगरपालिकाले एआरटी सेन्टरसँग समन्वय र सहकार्य गर्दै आएको बताए । साथै एचआईभी संक्रमित सेवाग्राहीले एआरटी सेन्टरको सिफारिसको आधारमा नगरपालिकाबाट निःशूल्क परीक्षण सेवा लिन सक्ने पनि उनले जानकारी गराए । 

ए.एच.एफ नेपालले एचआइभी संक्रमितहरुलाई विभिन्न सहयोगहरु उपलब्ध गराउनुको साथै उनिहरुको जिविकोपार्जनको लागि गर्ल एक्ट प्रोग्रामको  क्षेत्रमा पनि  अघि बढी रहेको संस्थाकी कार्यकारी प्रबन्धक संगीता भट्टले बताइन् । 

बैठकमा ए.एच.एफ नेपालका बरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले दीगो विकासका लक्ष्यलाई पूरा गर्नका लागि ए एच एफ नेपालले नेपालमा मुख्यतयाः एचआईभी तथा यौनरोगसहितका बिरामीहरुको उपचारमा सहयोग तथा वकालत गर्ने कार्यमा  निरन्तर रुपमा सक्रिय रहेको बताए । नेपाल सरकारले तय गरेका सबै मापदण्डलाई पालना गर्दै नेपाल सरकारकै कार्यक्रमहरुलाई सहयोग गर्दै संस्थाले काम गरीरहेको उनको भनाई छ ।

ए.एच.एफ नेपालको तर्फबाट कार्यरत रहेकी वीरगञ्ज नारायणी अस्पताल ए आर टि सेन्टर की काउन्सेलर रोशनी सर्राफले नारायणी अस्पतालको एआर टी सेवाबाट हाल  पर्सा,बारा, रौतहट, सर्लाही, मकवानपुर, धनुषा लगायतका जिल्लाबाट १४ सय १० जनाले नियमित रुपमा सेवा लिइरहेको जानकारी गाराइन् । स्थानीय तह एवम् अन्य साझेदार संस्थाहरूको सहयोगमा संस्थाले गरिरहेको कामले सकारात्मक नतिजा दिएको र एचआइभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने कुरामा उनको जोड थियो । 

ए.एच.एफ नेपाल पर्सा जिल्ला को आयोजनामा भएको सो कार्यक्रमको संचालन तथा सहजिकरण ए एच एफ नेपालकी पर्सा जिल्ला काउन्सेलर  रोशनी सर्राफले गरेकी थिइन् ।


 

Back to top