×

वीरगञ्ज । पर्सा क्रिकेट संघको वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । पर्सा क्रिकेट संघका अध्यक्ष इन्जिनियर मनीष सिंहको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन मधेश प्रदेश क्रिकेट संघका सचिव सुवास जयसवालले गरेका थिए । जयसवालले पर्सा क्रिकेट संघले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै संघलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिक साधारण सभाकै अवसरमा पहिलो सत्रमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । क्रिकेट संघ नेपाल क्यान अन्तर्गत राष्ट्रिय क्रिकेट विकास समितिमा मनोनित भएका पर्सा इन्जिनियर मनीष सिंहलाई सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय छनोट समिति सदस्यमा मनोनित भएका मुर्तुजा हवारी र क्रिकेट संघ नेपालको क्रिकेट प्रतियोगिता समितिमा सदस्यमा मनोनित भएका दाउद अन्सारीलाई सम्मान गरिएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक डेब्यु गरेबापत खेलाडी रञ्जित कुमारलाई पनि विशेष सम्मान प्रदान गरिएको संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए । यस्तै संघमा आवद्ध विभिन्न उपसमितिका संयोजकहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । 

साधारण सभालाई सम्बोधन गर्दै पर्सा क्रिकेट संघमा लामो समयदेखि प्रशिक्षक रहेका उमेश उपाध्यायले क्रिकेटको प्रवद्र्धन आवश्यक रहेको र क्रिकेट संघ नेपाल सही मार्गमा अघि बढिरहेको बताए । साधारण सभाको दोस्रो सत्रमा, डाक्टर बासुदेवलाल कर्णले प्राविधिक प्रतिवेदन प्रस्तुत गरे भने बाबुजान अन्सारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका प्रतिवेदनलाई उपस्थित सदस्यहरूले सर्वसंवत रुपमा अनुमोदन गरेका थिए । 

अध्यक्ष इन्जिनियर मनीष सिंहले समापन मन्तव्यका साथ आगामी योजना प्रस्तुत गर्दै क्रिकेट विकासका विभिन्न चुनौतीहरूको चर्चा गरे । उनले पर्सा क्रिकेटलाई अझै माथि उकास्न सबै सदस्यहरूको साथ र सहकार्यको आवश्यकता औँल्याए ।

सिंहले प्रदेशस्तरीय संवाद र खेलकुद मन्त्रीसँग समन्वय भइरहेको जानकारी दिँदै, खेलकुद सम्बन्धी विद्येयक पारित भएकोमा मधेश प्रदेशका खेलकुद मन्त्रीलाई बधाई दिए । उनले उक्त विद्येयकले प्रदेशको खेलकुदको भविष्य उज्जवल बनाउने विश्वास पनि व्यक्त गरे । डाक्टर हिरालाल राउतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन डाक्टर बासुदेव लाल कर्णले गरेका थिए । 


 

Back to top