×

बारा । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका विभिन्न प्रहरी कार्यालयको टोलीले ३१ लाख ५१ हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा भन्सार छलीका तथा बिलबिजकभन्दा बढी समानको स्रोत खुलाउन नसकेपछि सामानसहित ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, कलैया उपमहानगरपालिका-१ कलैया चोकबाट भन्सार छली गरी ल्याइएका १८ पोका रेडिमेड कपडा, ४० वटा सेन्डो गन्जी, १८ वटा हाफ कट्टु, र २६ वटा सुतिको गम्छासहित १८ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना १ ज ३२४२ नम्बरको म्याजिक गाडीबाट ९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरेको छ।

प्रहरीले काठमाडौं जाँदै गरेको ना ७ ज ५९२७ नम्बरको डिब्बे ट्रकलाई रोकी चेकजाँच गर्दा २७ लाख ५० हजार ५ सय ८९ रुपैयाँ बराबरको खुद्रा सामान स्रोत नखुलेको अवस्थामा फेला पारेको हो।

यसैगरी, इलाका प्रहरी कार्यालय प्रसौनीले बिश्रामपुर गाउँपालिका-२ घोडासहनबाट २० हजार रुपैयाँ बराबरको किसमिस बरामद गरेको छ।

पथलैया चौकीबाट खटिएको प्रहरी टोलीले वीराटनगरबाट काठमाडौं जाँदै गरेको प्र. १-०२-००२ ख ०१६२ नम्बरको बसमा ३ लाख १६ हजार ८ सय रुपैयाँ बराबरका ३९६ पिस कपडा बरामद गरेको छ।

प्रहरीले अवैध रूपमा ल्याइएको प्याज, चिनी, सुर्ती लगायतका सामान पनि नियन्त्रणमा लिएको छ। यी सबै सामान आन्तरिक राजस्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

Back to top